सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ३१ । बडादसैंको आठौं दिन अर्थात् महाष्टमी दिन दसैं घर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तसती पाठ गर्ने परम्परा छ । घरघर र शक्तिपीठहरुमा शक्तिस्वरुप महाकालीको विशेष पूजा गरी महाष्टमी पर्व मनाइँदैछ । आज राति कालरात्रीको पूजा गर्ने चलन छ ।
देवी भागवतमा उल्लेख भएअनुसार प्राचीनकालमा दक्ष प्रजापतिको यज्ञ नास गर्ने ज्यादै शक्तिशाली भद्रकाली आजैका दिन उत्पन्न भएकी थिइन् ।महाष्टमीका दिन शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री आदि देवीहरुको पूजा आराधना गरिन्छ ।
पूजापछि बोका, कुखुरा, हाँस, राँगो आदि बली दिइन्छ भने मानिसहरु आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजा गरी बली दिने गर्दछन् । सात्विकहरुले नरिवल, कुभिन्डो, केरा, घिरौंला आदि फल अर्पण गर्दछन् ।महाअष्टमी र महानवमीबीचको रातलाई कालरात्री मानेर रातमा कालरात्रीको पनि पूजा गरिने प्रचलन छ । महाष्टमी पर्वका अवसरमा देशभरका शक्तिपीठहरुमा भक्तजनको भीड लागेको छ ।
काठमाडौं उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सड्कटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई लगायत मन्दिरहरुमा विहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।
उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलदुराको उग्रतारा, काभ्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती लगायतका शक्तिपीठहरुमा पनि बलीसहित पूजा आराधना गर्ने भक्तजनहरुको घुँइचो लागेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा