सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ३० । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक परिवर्तनका नाममा भएका ‘असामयिक तथा असान्दर्भिक कार्यसूची’का कारण देश कसरी बचाउने भन्ने चिन्ता बढेको बताएका छन् ।
बडादसैंको शुभकामना दिन मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमा पूर्वराजाले एक शुभकामना सन्देश जारी गर्दै विजया दशमीको पावन अवसरमा देशभित्र र देश बाहिर रहेका सम्पूर्ण नेपालीमा शान्ति, सुख र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
नेपाल राष्ट्र भन्नु नै यज्ञीय, मन्त्रीय, तन्त्रीय, वैदिक, अनुष्ठान, साधना र परम्पराले व्यष्टित रहेको र कोट, मौलो, खड्ग, छत्र, शिला, कलश, शक्तिपीठका प्रतीकका रूपमा रही नेपाली समाजमा देवी महात्म्यम् आरध्य रहेको बताउँदै उनले पछिल्लो समय हाम्रा मौलिक धर्म, संस्कृति र चाडपर्वहरू संकटमा पर्दै जानु सबै नेपालीका लागि विषद् विषय बनेको भन्दै चिन्ता पनि व्यक्त गरेका छन्।
पूर्वराजा शाहले ‘हरेक उपलब्धिहरु परिवर्तन भएपनि हरेक परिवर्तनहरु उपलब्धिमूलक बन्न नसक्ने रहेछन् भन्ने स्पस्ट भएको विद्यमान अवस्थाले देखाएको’समेत उल्लेख गरेका छन् ।
विज्ञप्तिमा वर्तमान राजनीतिक अवस्थाले नेपालीबीचको सामाजिक सद्भाव मेटिँदै गएको तथा हिमाल, पहाड र तराईमाझको ऐक्यभाव तोड्ने प्रयत्न भइरहेको आरोपसमेत लगाइएको छ ।
पूर्वराजा शाहले अब समीक्षा र आत्ममूल्यांकनको घडी आएको भन्दै आफैंलाई साक्षी राखेर देश र देशवासीको पक्षमा केही गर्ने प्रण गर्न आह्वानसमेत गरेका छन् ।
करिब ६ हप्ता अघि बैंकक, कोलम्बो र माल्दिभ्सको राजधानी मालेको भ्रमणमा निस्किएका पूर्व राजा शाह आज स्वदेश फर्किएका हुन्।
त्यसैगरी, पुर्व राजा ज्ञानेन्द्रले आफन्त, शुभेच्छुक तथा सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिने उनका प्रेस सल्लाहकार फणिराज पाठकले जानकारी दिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा