भर्खरै

वाणिज्य बैंकको मिलेमतोमा नयाँ व्याजदर, बचत खातामा ५ प्रतिशत


 October 11, 2018     सेतो खबर

काठमाडौँ, असोज २५  । वाणिज्य बैंकहरुले एकआपसमा मिलेमतो गरी नयाँ व्याजदर कायम गर्ने समझदारी गरेका छन् ।

नेपाल बैंकर्स सङ्घको असोज २५ गतेको बैठकले व्यक्तिगत बचत खातामा पाँच प्रतिशतसम्म व्याज दिने समझदारी गरेका हुन् । बैठकमा २८ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको सहभागिता थियो ।

यस्तै व्यक्तिगत मुद्दती खातामा नौ प्रतिशत र संस्थागत मुद्दती खातामा भने १० प्रतिशतसम्म व्याज दिने भएका हुन् । केही बैंकले निक्षेप तान्न भन्दै बचत खाता र मुद्दती खातामा बढी व्याज दिन थालेका थिए । त्यसबाट बचतकर्तालाई भने फाइदा भएको थियो ।

नवील बैंकका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल बैंकर्स सङ्घका पूर्वअध्यक्ष अनिलकेशरी शाहले व्याजदरमा केही सामान्य समझदारी भएको जानकारी दिए ।

उनले बैंक तथा वित्तीय संस्थाका विषयमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र संवद्ध बैंकका सरोकारवालाबीच भइरहेको छलफलको निरन्तरताका क्रममा आज सङ्घको बैठक बसेको बताए ।

यसअघि साधारण बचतमा सात प्रतिशतसम्म र मुद्दतीमा १० दशमलव ५० प्रतिशतसम्म व्याज दिने समझदारी बैंकहरुले गरेका थिए । तर केही बैंकले भने संस्थागत बचतकर्तालाई तोकिएभन्दा बढी व्याजदर दिएको भन्दै बैकर्स सङ्घमा उजुरी गरेका थिए ।

गत साउनदेखि हालसम्म बैंकहरुले रु ३९ अर्ब निक्षेप सङ्कलन गरेका छन् । तर सोही अवधिमा रु ९२ अर्ब कर्जा प्रवाह गरेका छन् । निक्षेप सङ्कलन र कर्जा प्रवाहमा सन्तुलन नभएपछि बजारमा फेरि लगानीयोग्य रकमको अभाव हुनसक्ने सम्भावना देखिएको छ । बजारमा करीब रु ३५ अर्बको हाराहारीमा मात्रै तरलता रहेको छ ।  रासस

LIC
LIC



Ime Inside