सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गोरखा, असोज २३ । गोरखामा राजा छनोट गर्न यही असोज २८ गते लिगलिगे दौड प्रतियोगिता हुने भएको छ ।
लिगलिगकोट विकास अभियानले सदरमुकाममा आज पत्रकार सम्मेलनको आयोजना गरी लिगलिगे म्याराथन २०७५ को तयारी तीव्ररुपमा अघि बढेको जनाएको छ ।
विसं १६०४ देखि शुरु भएको मानिने सोे दौड विगत नौ वर्षदेखि हुँदै आएको छ । अभियानका अध्यक्ष पूर्णबहादुर रानाले विगतका वर्षमा जस्तै गोरखाको लिगलिगकोटको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वलाई चिनाउन प्रतियोगिता गर्न लागिएको जानकारी दिए ।
सो दौड चेपे र मस्र्याङ्दी नदीको दोभानबाट शुरु भई ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर अन्त्य हुने छ ।
१३.८ किलोमिटर दूरी पार गर्नुपर्ने उक्त प्रतियोगितामा पहिलो हुनेलाई नगद रु ६० हजार १०० को साथमा श्रीपेच, पगरी, ट्रफी र लिगलिगकोट राजदूतको ब्याच प्रदान गरिने रानाले जानकारी दिए ।
साथै प्रतियोगिताको उपाधि विजेतालाई एकरात लिगलिगमा राजाका रुपमा राखिने र मोटरमा चढाएर नगर परिक्रमा गरिने उनले बताए ।
त्यस्तै दोस्रो हुनेलाई नगद रु ३५ हजार र तेस्रो हुनेलाई नगद रु २५ हजारको साथमा सम्मान गरिने छ । नवौँ स्थानसम्म प्राप्त गर्ने सहभागीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
स्वदेशी तथा विदेशी नागरिकले भाग लिन पाउने सो प्रतियोगितामा नेपालीलाई दर्ता शुल्क रु एक हजार र विदेशीलाई रु पाँच हजार लाग्ने छ । प्रतियोगिता सम्पन्न गर्नका लागि कूल रु २८ लाख ५५ हजार लाग्ने अनुमान गरिएको छ ।
बडडाँडादेखि लिगलिगकोटसम्मको पाँच किलोमिटर दूरीको महिला खुला दौड प्रतियोगितासमेत हुनेछ । सो दौडमा पहिलोले रु २० हजार पाँच, दोस्रो हुनेले रु १२ हजार पाँच र तेस्रो हुनेले सात हजार ०५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा