भर्खरै

बोसनको सेरोफेरो: यथार्थको अनुभूति


 October 4, 2018     सेतो खबर

– बिक्रम भक्त्त जोशी

चकमन्न मध्यान्ह, टन्टलापुर घाम । उसै भर्खरै मनसुनको बिदाई संगै पानी पर्न रोकिएकोले हो कि दशैं नजिकिंदा नजिकिंदै पनि उखरमाउलो घामले छाला डढाउन छोडेको थिएन । त्यसै पनि काठमाडौं पहिला जस्तो रहेन । बाहिरबाट आउनेलाई त चिसै लाग्दो हो । तर यतैको रैथाने म जस्तालाई त यो चरक्कै परेको दिउँसोको घाम औधि सकसमूलक हुने नै भो।

“पानी पाम् न ।” घरबाट लान भुलेकोले बाटो छेउको दुकानमा एक बोटल मिनेरल वाटर किनिमागें।

“कति हो ?” बीस रुपैयाँ भनेर जान्दा जान्दै सोधि टोपलें।

“बीस ।” थाहै थियो भाउ, हातमा ठिक्क पारिराख्या बीस रुपियाँको नयाँ नोट साहुजीको हातमा थमाइदिएं। र, हिंडें ।

चोभारको हिमाल सिमेन्टको गेट भन्दा थोरै अगाडिबाट दाहिने लाग्न। उतैबाट भित्रतिर मोडें । एकैछिन उभिएर फर्कि हेर्दा हिमाल सिमेन्टको उहिलेको चमकधमक सम्झिंदै अहिलेको सोतर पारिएको ठाउँ हेर्दा उराठ लाग्यो । जम्मै भत्काई सिध्याई सकेछ । कारखानाबाट निस्केको धुआँले बस्तिमा वायु प्रदुषित भयो भन्दै स्थानियको बिरोधमा हिमाल सिमेन्ट शहिद भो । अन्तरकुन्तरका कुरो त के हो कुन्नि, तर त्यो बेलाको बिरोध अहिलेको कलङ्कीदेखि थान्कोट बीच रहेका सडक छेउछाउ बस्ने बासिन्दाको धुलाम्य सडकको कारण भएको वायु प्रदुषण बिरुद्धको आन्दोलन जस्तै त होला ।

खैर, ऊ बेला म सानो हुंदा यहाँंको सिमेन्ट पाउन सोर्सफोर्स चल्थ्यो । यो सिमेन्टबाट बनेको घर बलियो हुन्छ भन्ने बिश्वास थियो सबैमा। हाम्रो घर तीस सालतिर बनाउंदा धेरथोर यहि सिमेन्ट हालिएको थियो । धेरथोर किन भनेको भन्दा नि हाम्रो घर ज्यादातर त माटोले नै बनेको थियो । अगाडिको पाटोमा मात्र हो सिमेन्ट । धेरै जसो यस्तै गर्थे ऊ बेला । यहि तर्कना गर्दागर्दै आधाउधि पानी पिई सिध्याई सकेछु ।

चोभार डांडा दाहिने पारेर पश्चिम लस्किंदा दिउंसोको बाह्र नाघिसकेछ । हुपिल्याण्डमा हावा संगै बत्तिंदै अनि चिच्च्याउंदै बडेबडेमानका पिङ्गमा मच्चिंदैगरेका ठिटाठिटी अनि बच्चाबच्चीको आवाज यहिंसम्मै गुन्जायमान थियो ।

चारघरेको चौतारोमा सुस्ताउंदै गर्दा एकजना लठेब्रो खाले तीखो आवाज निकाल्दै आयो ।

“तेरा तेरा तेरा … कि कि की”, यस्तै आवाजको भान पर्यो मलाई ।

“यो लाटोको जहान परिवार भैंचालोले लग्यो, त्यो बेला देखि यो यत्तिकै छ ।” चौतारोमा बसेर चुरोट तान्दै गरेका एकजना उतैका मान्छेले मेरो जिज्ञासु हेराई बुझि सम्झायो ।

“घर नि ?” मैले सोधें ।

“घर के भन्नु ! छ सानो टहरो जस्तो बांकी । त्यो’नि ह्यांकाहरुले हारगुहार गरि बनाईदेका ।”

“अनि भूकम्पपीडितले पाउने मुआब्जा ?”

“हा हा हा । कुन चाहिंले यस्को नाममा पचाएछ । त्यहांबाट त झन् यो सिकिस्तै भो । सरकारी पाराका मानिस देख्यो कि जाईलाग्छ ।”

“कठै !” म अरु भन्न नैं के सक्थें र !

त्यो लठेब्रो उस्तै पाराले कराउंदै मास्तिर लाग्यो । म चैं बोसनतिर मोडिएं ।

अं, सांच्ची । भन्नै बिर्सेको । आजको मेरो सानोतिनो एकल पदयात्राको गन्तव्य थियो – बोसन डांडा । भनिन्छ कि जब महामन्जुश्रीले खड्गले काटेर काठमाडौं उपत्यकाको पानी बाहिर पठाए, पानी संगसंगै बग्दै कर्कोटक नाग पनि बाहिरिन लाग्यो । कर्कोटकलाई बाहिरिनबाट बचाउन र उपत्यकामै रहने बन्दोबस्त गर्नका लागि टौदह ताल बनाइयो । सो ताल खन्दा निस्केको माटो थुप्रेर यो बोसन डांडा बनेको भन्ने किम्वदन्ती छ ।

बोसन डांडाको फेदैमा सानो खोल्सो बग्दैथ्यो । छेवैमा निलो जस्तापाताले घेरेको मिनेरल वाटरको कारखाना । एक जना आईमाई सुस्ताउंदैथी । कामदार हुंदो हो ।

“डांडाको टुप्पो पुग्न यतैबाट चढ्ने हो ?” थोरै परको एकाध ढुङ्गे खुड्किलो देखेर सोधें ।

“अं, सिधै जानुस् । दाहिने मोडेपछि चाक्लो बाटो भेटिन्छ । त्यसलाई नछोडि जाने, ठूलै बाटो पुगिन्छ । त्यांबाट टाढा छैन ।” उन्ले बेलिबिस्तार लगाईहाली ।

धन्यबाद भनेर थोरै अगाडि मात्र के बढेको थिएं, पछाडिबाट कराई, “अलि होश पुर्याउनुस्, सर । मास्तिर झ्यासतिर कहिलेकाहिं बँदेल चरि बस्छ ।”

यो नयाँ बाटो थियो मेरो लागि । अगाडिको बाटोबाट त गाको हो । बाईक नैं कुद्ने बाटो । यताबाट चढ्या थिइनं । जे पर्ला पर्ला भनेर लस्कें ।

माथि चढ्दै जांदा देब्रेतिरको दृष्य खुल्दै गयो । टौदह देखिन थाल्यो । टिलिक्क टल्केको । त्यसको दाहिनेपट्टि नियाल्दै जांदा सिकालीको मैदान पनि देखियो, जहाँ थियो सिकालीको मन्दिर । खोकनाबासीको आस्थाको केन्द्र । दशैं मान्दैनन्, सिकाली जात्रा मनाउंछन् जुन फुलपातीको अघिल्लो दिन समापन हुन्छ । मन्दिर रहेको मैदाने थुम्को वरिपरि बागमती नदिले एक फन्को लगाएको थियो ।

यत्तिकैमा खस्र्याकखुस्रुक आवाजले म चनाखो भएं । त्यो आईमाईको कुरो दिमागमा बुर्कुस्सी मार्न थालिहाल्यो । बँदेल?

सुरक्षाका लागि केही’नि थिएन साथमा । छेउमा देखें सुकेर खसेको हांगो । केहि न केही हातमा हुनु जाति । त्यहि भएपनि टिपें ।

म अगाडि बढुं कि पछाडि हटुं भन्दै सोच्दै मात्र थिएं कि सर्याकसुर्रुक आवाज सहित एक बृद्ध व्यक्ति झ्याङ्गबाट फुत्त निस्के । हांगा समातेको हात उहिं को उहिं अड्यो ।

“घुम्न आउनुभा?”

“हजुर!” एक छिन अगाडि हावी भाको डरलाई लुकाउंदै भनें ।

“बाख्री डोरी छिनालेर हिनेको ब्यानदेखि खोज्याखोज्यै छु ।” बृद्धले आफ्नो दुखेसो पोखे । “कतै तल्तिर देख्नु त भा’छैन?”

मैले मुन्टो हल्लाउन नपाउंदै ऊ बोल्न थालिगो ।

“अब यो भाको एउटा दुधालु बाख्री नि हरायो । सप्पै गए । सप्पै । यो बुढोलाई छोडेर सप्पै गए ।” बृद्ध फत्फताउंदै थिए ।

“दश वर्ष अघि एउटै सन्तान भनाउंदो छोरो हिन्यो । खहरेको दुई तल्ले घर बेचेर दुबई पठाको फर्किने नामै लिंदैन । पोहोर बुढिलाई भगवानले लग्यो । किरिया बस्न पनि आएनन् पापी । म बुढोलाई एक छाक भात पकाईदिने’नि कोई भएनन् ।”

बृद्ध फतरफतर गर्दै थिए । चिन्नु न जान्नु आफ्नो कथा सुनाउंदै थिए । म चैं अक्कनबक्क उभेको थिएं ।

“म’नि खोज्दिउं बा ?” मैले सोधें ।

“पर्दैन बा । कता जान हिन्या होला । किन दुख दिनु?” बृद्धले खिसिक्क हांस्दै भने ।

“बोसन टुप्पो पुग्ने हो, बा ! ह्वाईट हाउस होटेलसम्म गएर फर्किने हो । भ्याईन्छ ।”

बृद्धले कृतज्ञ भएर मलाई हेरे ।

“मुनि मुनि, आ आ आ !!!” बृद्ध कराउंदै पाखो माथिको झ्याङ्ग भित्र छिरे ।

खोज्न सघाउंछु त भनें, खोज्ने पो कता? बुढोले बिहान देखि खोज्दा त नभेटेको, अब कसोरी भेटिंदो हो । यहि सोच्दै झ्याङ्ग टटोल्न थालें । तल्तिरबाट आउंदा नदेखेकोले मास्तिरै कतै होला भन्ने जस्तो लागेर त्यतै लागें ।

बृद्धको घर… घरै त होईन झुप्रो रे (उनैले भनेका), अलि मास्तिर रैछ । बाउ बाजेको पाला देखि यतै बसाई रैछ । निक्कै दुखजेलो गरेर कमाएको पैसा र भत्केको पाटी नेर रहेको दुई रोपनी जग्गा समेत बेचेर तानतुन गरेर खहरेमा चार आना जग्गा किनी दुई तल्ले घर बनाएका रैछन् । जुन छोरोको दुबई सपनाले निमिट्यान्न पारेको रैछ । साह्रै चित्त दुख्या रैछ, दुख्ने नैं भो । त्यही भएर यो कुरो बृद्ध बार बार दोहोर्याउंदै थिए, बाख्री खोज्ने क्रममा ।

“छन् नि नातिनातिनाहरु पनि। एउटा नाति एउटी नातिनी । मोबाईलां बाहेक अन्वार देख्या होईन । यो उमेरां तिनारुलाई खेलाएर दुई छाक सुविस्ताले खाने दिन होईन र ? बुहारी भनाउंदी नै उस्तै । छोरोलाई कान भरि भरि दुबई पठाईहाली । त्यसको चार बर्ष पछि आफै पनि गई ।” बृद्ध आफ्नो रामकहानी सुनाउंदै थिए । म भेटिने झिनो आशमा बाख्री खोज्दै थिएं ।

“अनि बालाई उतै बोलाउंदैनन् त ?”

प्रश्न सकिन नपाउंदै बृद्ध छोरोलाई सतोसराप गर्न थाले ।

“खुपै बोलाए । फोनां कुरो गर्न त गाह्रो मान्छन् । कुलाङ्गारले बुढेसकालां भर देला भनेको भएभरको सम्पत्ति कुम्ल्याएर बाउलाई कसिङ्गर फाल्या जस्तै फालेर हिंडे, बा ।”

बृद्धको आंखाको कुनो टिलपिल गरेको प्रष्टै देख्दै थिएं । बोली पनि लर्बरिंदो थियो । घाँटी अररो भाको जस्तो । मलाई साह्रै ननिको लाग्यो ।

“छोरो पायो भनेर बुढि दङ्ग पर्या थिन् । छोरो भएपछि अरु किन चाहियो भन्ने कुरो भो । एउटैलाई राम्ररी हुर्काम् बढाम् । बिहे गरि जाने जात होईनन् क्यारे । हाम्लाई हेरिहाल्छन् नि भनेर अर्को सन्तान’नि पाएनम् । उ बेलां चार चार्टा, पांच पांच्टा छोर्छोरी पाउने बेलां एउटैमा चित्त बुझायौं । दुनियांले खिसिट्युरि गरे । कसैले सम्झाए । कत्तिले रेला’नि गरे । तर हामी दुई बुढाबुढीले कसैको कुरो सुनेनम् । छोरोको नाम जपना गरि गरि हुर्कायौं । ल्याब्राटरी कि कुन नामको इस्कुलमा पढायम् । लेखायम् । त्यो’नि इस्कुलकै बसां ओरदोर गराएर । ऊ बेलां उहि खहरेमा बसिन्थ्यो । सुबिस्ता थ्यो । अब त फेरि ई… भीर माहुरी भईया छ, बाबु ।”

बृद्धले मैलो कमीजको छेउले सलक्क ओभानो आँखा पुछे र मलाई हेरेर गाह्रो मानी मानी मुस्कुराए ।

“म’नि चाइंदो नचाइंदो कुरां बाबुलाई अल्झाएं, हगि ? भैहाल्यो । जानुस् ।” बृद्धले अप्ठेरो मान्दै भने । “के गर्नु ? मन पोल्छ, बा । कल्लाई सुनाम्, कल्लाई सुनाम् हुन्छ । एक्लै कति झोक्राउनु? धुम्धुम्ती कति बस्नु ? औडाहा हुन्छ । दशैं आउंदैछ । टिको लाईदिन नपाको बर्षौं भैसक्यो । अरुको घरां रमझम देख्दा झनै मन रुन्छ ।”

म हेर्दै थिएं बृद्धको मलिन अनुहार । मैले भन्न सकिनं कि तपाईंकां म टीका लाउन आउंछु । नियास्रो नमानुस् भनेर । किनभने म कुनै काल्पनिक कथाको पात्र थिईनं । यथार्थमा महान् हुन कठिन हुन्छ । नैतिक कथा पढ्दा राम्रो लाग्छ, तर यथार्थमा?

आखिर घण्टौको प्रयास बाबजुद बाख्री भेटिएन । चितुवा पनि लाग्दो रैछ, चम्पादेवीको बनबाट । कतै चितुवाले पो तान्यो कि भन्ने शङ्का गरे बृद्धले ।

दुई बजिसकेकोले म संग धेरै समय थिएन । बोसन डांडाको टुप्पो पुग्नै अझै एक घण्टा लाग्दो हो । औपचारिकताका दुई चार मिठामसिना कुरोले बृद्धको घाउमा मलम लाउने कोशिश गरेर म छुट्टिएं र लागें उकालो ।

बाईक कुद्ने बाटो भेटेपछि हिंडाई सजिलो भो । मास्तिरको एक सय असी डिग्रीको मोड आए संगै उत्तरतिरको डांडाको थाप्लोमा ह्वाईट गुम्बा, रेड गुम्बा थप्पक्कै बसेको देखियो । अलि देब्रेतिर दहचोकको डांडामा दुरसंचारको टावर हल्का देखियो, जसमा ठोक्किएर कुनै बेला नेकोन एअरको हवाईजहाज दुर्घटनाग्रस्त भाको थियो । यसकै साईडमा देब्रेतिर कालु पाण्डेको समाधि छ । किर्तिपुरको लडाईंमा यिनी मारिए र उनकै ईच्छा मुताविक आफ्नो घरठाउं (गोरखा) देखिने ठाउँमा यिनको शिर गाडियो । सुन्छु कि आकाश खुलेको बेला यो ठाउँबाट गोरखा देखिन्छ ।

अर्को पन्ध्र मिनेटमा ह्वाईट हाउस होटेल पुगियो । भोकले चुर थिएं, एक प्लेट चिकेन चाउमिन दन्काईहालें । अनि बल्ल त्यहांबाट देखिने सुन्दर दृष्यको रसास्वादन गर्न थालें ।

मुन्टोलाई थोरै तल फर्काउंदा टाढा टाढासम्म देखिने कंक्रीटको जंगल बीच आफ्नो घर कता पर्छ भनेर खोज्न थालें । जसरी म आफ्नो घर खोज्दै थिएं, उसरी नैं चौहत्तर जिल्लाबाट आफ्नो भाग्यको परिक्षा लिंदै आफ्नो गाउँ आफ्नो पुर्ख्यौली छोडेर यहि खाल्डोमा आउनेहरु यसरी नैं आफू कता बस्ने वा आफ्नो घर कता बनाउने भनेर नियाल्दा हुन् । अनि घर बनाइसकेकाहरु वा बनाउन बांकीहरु यो ठाउँ भन्दा गतिलो ठाउँ कुन होला भनेर ईन्टर्नेट नामक दुरबीनबाट खोज्दै होलान् । कसैले पूर्व रोज्लान्, कसैले पश्चिम । कसैलाई पूर्वले रोज्लान्, कसैलाई पस्श्चिमले । जस्ले जहाँ जता जे रोजे पनि, घाटामा हाम्रा बृद्ध बाबा आमा नै हुन्, जो आफ्ना छोराछोरी बिदेशमा भाको कथा छरछिमेकलाई गर्वका साथ त सुनाउंछन्, तर एकान्तमा कसैले नसुन्ने गरि, नदेख्ने गरि सुंक्क सुंक्क रुन्छन् । कोहि बिदेशमै पनि रुन्छन्, आफ्ना छोराछोरीको साथमा हुंदाहुंदै पनि । किनभने सशरीर संगै हुंदाहुंदै पनि आत्मियता जो हराएको छ ।

बोसन डांडाबाट तल्तिर ओर्लिंदै गर्दा बाटोमा मधुर आवाज सुन्छु, हो कि होईन जस्तो । त्यहि बृद्धको पो हो कि?

“मुनि मुनि, आ आ आ !!!”

 

ctzn
LIC

LIC


Ime Inside