सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, असार २ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले अहिले गर्न लागेको आन्दोलन सांकेतिक मात्रै भएको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले अहिले गरेको क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै काँग्रेस आन्दोलन उत्रेको स्पष्ट पारे ।
अघिल्लो सरकारले गरेको निर्णय अहिलेको सरकारले अविवेकपूर्ण ढंगले उल्टाएको, अनशनरत डा.गोविन्द केसीको जीवन रक्षाको सवालमा प्रभावकारी काम गर्न नसकेको, महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेका कारण प्रतिपक्षले आन्दोलन गर्नु परेको उनको भनाइ थियो ।
काँग्रेसको आन्दोलनपछि सरकार कसरी अगाडि बढ्छ त्यो हेरेर थप आन्दोलनका कार्यक्रम ल्याउने पनि उनले बताए । जनताका जनजीविकाको पक्षमा काँग्रेस लागिरहने भन्दै नेता पौडेलले काँग्रेस अहिले ‘पर्ख र हेर’को अवस्थामा रहेको बताए । उनले भने, ‘भर्खरै बनेकोे सरकार छ । प्रतिपक्षको भूमिकाको नाममा असहिष्सुणता प्रदर्शन गर्न पनि भएन ।’
नेता पौडेलले सरकारले गरेको राजदूत नियुक्ति प्रक्रियामा असन्तुष्टि पनि जनाए ।
राजदूत नियुक्तिका क्रममा संविधानमा व्यवस्था भएअनुसार अहिलेको सरकार नचलेको उनको आरोप थियो । सरकारी नियुक्ति पाएका व्यक्तिले आफ्नो पदीय दायित्व निर्वाह गर्दा सरकारको पक्ष लिने काम नहोस् र त्यसबाट आशावादी भएर पक्षपात नगरुन् भन्ने आशयले त्यस्तो धारा राखिएको उनले बताए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा