सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ३० । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संघीय संसद्को दुवै सदनमा पार्टीको तर्फबाट प्रभावकारी भूमिका खेल्ने भएको छ ।
राजपा संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले संसद्मा उठेका विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुने निर्णय गरेको हो ।
बैठकले संसद्मा उठेका विषयमा गुण र दोषका आधारमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।
उनका अनुसार नवनिर्वाचित दलका नेता ठाकुरले वर्तमान समसामयिक परिस्थितिबारे बैठकमा धारणा राख्दै राजपाले जनताको अपेक्षाअनुरुप काम गर्नुपर्ने भएकाले एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
राजपालाई मधेश केन्द्रित दलका रुपमा चित्रण गरिने गरेकामा आपत्ति जनाउँदै नेता ठाकुरले राजपा देशका सम्पूर्ण उत्पीडनमा परेका जनताको भावनालाई एकाकार गर्दै अनवरतरुपमा अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।
सरकारलाई समर्थन गरेको राजपाले सरकारमा सहभागी हुने या नहुने भन्नेबारे अझै निर्णयमा पुग्न सकेको छैन । संविधान संशोधनको विषयको स्पष्टतापछि मात्रै राजपाले निर्णय लिने नेताहरूले बताएका छन् ।
राजपा संसदीय दलको नेतामा ठाकुर
राजपा संसदीय दलकोे नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् । राजपा संसदीय दलको बैठकले उहाँलाई संसदीय दलको नेतामा सर्वसम्मतरूपमा चयन गरेको हो ।
अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको प्रस्ताव तथा सबै नेताको समर्थनमा ठाकुर दलको नेतामा चयन भएको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।
‘राजपाले एकसाताअघि आज निर्वाचन हुने मिति घोषणा गरेदेखि नै पार्टीको नेता को हुने कुन विधिबाट हुने, पार्टीमा विवाद छ भन्ने बाहिर हल्ला फिँजाइएको थियो त्यो सबलाई चिर्दै सर्वसम्मतरुपमा निर्णयमा पुग्न सफल भएको छ । राजपा आज पनि मुद्दाप्रति इमान्दारीपूर्वक कुनै प्रकारको मत मतान्तर छैन भन्ने कुरा आजको निर्णयले प्रमाणित गरेको छ’, नेता यादवले भने । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा