सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, जेठ ११ । सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीलाई शुत्रबार (आज) तेस्रो दिन पनि बयानका लागि जिल्ला अदालत मोरङ लगिएको छ । बिहीबार र बुधबार दुई दिन बयान लिए पनि नसकिएपछि शुक्रबार पुन बयानकै लागि उनलाई अदालत लगिएको हो ।
गोरेलाई अदालत लैजाँदा र अदालतबाट निकाल्दा कडा सुरक्षा व्यवस्था अपनाउने गरिएको छ । बिहीबारसम्ममा गोरेसँग १६ पृष्ठको बयान लिइएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा उनीसँग बयान लिने काम भइरहेको छ । गोरेको बयान शुक्रबार सकिए आइतबार थुनछेक बहस हुने अदालत स्रोतले बताएको छ ।
सुन तस्करी, सङ्गठित अपराध र हत्याको अभियोगमा ६३ जनामाथि मुद्दा दर्ता भएकामा यही जेठ ८ गते २८ जनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ । एक जनालाई साधारण तारेख र एक जनासँग धरौटी माग गरिएको थियो । उप्रेती पक्राउमा परेपछि अब फरार आरोपीको सङ्ख्या ३२ रहेको छ ।
पुर्पक्षका लागि थुनामा राख्ने आदेशानुसार कारागार पठाइएकामध्येबाट एक जना पूर्वप्रहरी नायब महानिरीक्षक र पाँच निलम्बित प्रहरी अधिकारी गरी छ जना छन् ।
जिल्ला अदालतले वैशाख १९ गते ६३ जनामाथि सन् २०१५ देखि हालसम्म रु १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० पैसा १३ बराबरको ३७ लाख ९९ हजार ५५९ ग्राम सुनको अवैध कारोवार गरेको भनेर बिगोसहितको अभियोग दर्ता गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा