सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १। सिन्धुलीको सुनकोशी गडतिर भेगमा सखरखण्ड (स्विट पोटाटो) खेती लोकप्रिय हुँदै गएको छ। ‘कन्दमूल खाऔँ स्वस्थ्य बनौँ’ अभियान नै सञ्चालन गरेर उक्त क्षेत्रका किसानले नगदे बालीका रुपमा सखरखण्ड खेतीलाई विस्तार गरिरहेका कृषक टेकबहादुर थापाले बताए। पौष्टिकताले भरिपूर्ण कन्दमूलको कोटीमा सूचीकृत सखरखण्डलाई अनिकालको सञ्जिवनीका रुपमा समेत लिने गरिन्छ। सिन्धुलीको गोलन्जोर र फिकल गाउँपालिमा करिब ४०० कृषकले अहिले व्यावसायिक रुपमा सखरखण्ड खेती शुरु गरेका छन्। अरु बालीको तुलनामा थोरै खर्च र कम परिश्रमबाट मनग्य आम्दानी लिन सकिने भएकाले सखरखण्डप्रति किसानको आकर्षण बढेको हो।
सो क्षेत्रमा लोकप्रिय भएको सुन्तले रङको गुदी भएको सखरखण्डको उत्पादन प्रतिहेक्टर २० देखि ४० टनसम्म हुने थापा बताउँछन्। नदीको किनार वा बलौटे माटोमा यसको बढी उत्पादन हुने राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका पूर्व संयोजक बुद्धिप्रकाश शर्मा बताउँछन्। उच्च पहाडी कृषि सहकारी संस्थाले गोलन्जोर र फिकल गाउँपालिकाका किसानलाई निःशुल्क रुपमा लहरा (बीउ) वितरण गर्दै आएको छ। मुलुकका सबै भागमा सखरखण्डको उत्पादन हुने भए पनि पूर्व, मध्य र पश्चिमका पहाडी तथा तराईका जिल्लाका किसानले भने यसको फाट्टफुट्ट रुपमा व्यावसायिक खेती गर्दै आएका छन्।
यसको उत्पादन पाखा पखेरा, कान्ला र ढडियानमा समेत हुने गर्छ। एउटा लहराबाट २०० देखि ५०० ग्रामसम्म सखरखण्ड उत्पादन हुने कृषक थापाको भनाइ छ। लहरा रोपेको तीनदेखि चार महिनादेखि नै उत्पादन हुने सखरखण्डको फल र लहरा दुवैबाट आम्दानी लिन सकिन्छ। त्यहाँबाट उत्पादन भएको सखरखण्ड काठमाडौँलगायत मुलुकका विभिन्न बजारमा प्रतिकिलो रु ३० देखि रु २०० सम्ममा बिक्री हुने गरेको छ। सखरखण्डका लहरा (बीउ) जेठदेखि साउनसम्म लगाउने गरिन्छ भने उत्पादन कात्तिकदेखि माघसम्म हुन्छ। धार्मिक दृष्टिकोणबाट चोखो फलका रुपमा लिइने सखरखण्डलाई सबै उमेर समूहले उसिनेर, पोलेर तथा काँचै पनि सलाद बनाएर खाने गरेका छन्। स्थानीय जातको सखरखण्डको गुदी सेतो हुन्छ। गुदी पहेँलो हुने सखरखण्ड उन्नत जातको भएको डा शर्मा बताउँछन्।
हरिबोधनी एकादशी, मंसिरपूर्णिमा र माघे सङ्क्रान्तिका अवसरमा लाग्ने मेला र हाटबजारमा सखरखण्डको धेरै बिक्री वितरण हुँदै आएको छ। पछिल्लो समय अमेरिकी सहयोग नियोग (युएसआइडी)ले ४० जिल्लाका किसानलाई पोषणको राम्रो स्रोतका रुपमा रहेको सखरखण्ड (स्विट पोटाटो) खेतीका लागि कृषकलाई प्राविधिक सहयोग गर्दैआएको छ। देशभर स्थानीय २५ र नयाँ उन्नत ३० जातका सखरखण्ड किसानले लगाउँदैआएका छन्। शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन सहयोगसमेत पुर्याउने सखरखण्ड खानाले हाड, दाँत, नसा र छालामा लाभ पुर्याउने विज्ञहरु बताउँछन्।
जाडो महिनामा सखरखण्ड खानाले शरीरलाई न्यानो बनाउँछ। गरीबको खाद्यान्नका रुपमा परिचित सखरखण्ड चीनलगायत विश्वका विकसित मुलुकका तारे होटलमा महत्वपूर्ण परिकारका रुपमा राख्ने गरेको पाइन्छ। पछिल्लो समय सखरखण्डको पाउरोटी र हलुवासमेत लोकप्रिय बन्दै गएको छ भने मुन्टालाई गुणकारी हरियो सागका रुपमा लिने गरिन्छ। निकै स्वादिलो कन्दमूलका रुपमा रहेको सखरखण्ड पहाडी तथा तराई भेगका किसानको छाक टार्ने खाद्यान्न बन्दै आएकोछ। तराईमा सखरखण्डलाई अलुवाको नामबाट चिनिन्छ।
पश्चिम पाल्पा र दाङमा गन्जी, पूर्वी पाल्पामा सुठेनी तथा पश्चिममा यसलाई सकलगञ्ज समेत भनिन्छ। सखरखण्डको व्यावसायिक खेतीलाई विस्तार गर्न सकेको खण्डमा किसानको जीवनस्तर उकास्न तथा मुलुकमा आउन सक्ने खाद्य संकटलाई अन्त्य गर्न ठूलो योगदान पुग्ने विश्वास गरिएको छ। रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा