भर्खरै

रुकुमका २१ वर्षीय युवाले आविष्कार गरे घरमा ‘चोर’ पसेको सूचना दिने यन्त्र


 February 8, 2018     सेतो खबर

रुकुम, माघ २५ । सामान्य गाउँको परिवारमा जन्मेका रुकुम पश्चिमका एक विद्यार्थीले घरमा ‘चोर’ पसेको सूचना दिने यन्त्र आविष्कार गरेका छन् ।

जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका–११ भलाक्चाका २१ वर्षीय वसन्त ओलीले कोठामा कोही प्रवेश गर्‍यो भने थाहा पाउने ‘सेक्युरिटी सिस्टम’ नामको यन्त्र आविष्कार गरेका हुन् ।

हाल दाङको पद्मोदय नमुना माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत् ओलीले यस्तो यन्त्र आविष्कार गरेपछि जिल्लामा उनको निकै चर्चा चलिरहेको छ । ओलीले योसँगै अन्य विभिन्न ३० ओटा उपकरण पनि बनाएको बताए ।

उनले बनाएका केही उपकरण बिक्रीका लागिसमेत बजारमा आइसकेका छन् । ‘मैले बनाएको सबैभन्दा राम्रो उपकरण सेक्युरिटी सिस्टम हो’–उनले भने–‘यसमा पहिले नै मोबाइल नम्बर सेट गरिएको हुन्छ । कोठामा कोही प्रवेश गर्‍यो भने मोसन र हिटका आधारमा मेसिनले जुन व्यक्तिको फोन नम्बर सेट गरिएको हुन्छ, त्यसमा फोन गर्छ ।’

सम्बन्धित व्यक्तिले फोन उठाएपछि कोठाभित्र भइरहेको गतिविधिको आवाजसमेत सुन्न सकिने उनले बताए ।

रातिको समयमा पसल, घर, कार्यालयलगायतका ठाउँमा हुने चोरीको सूचना दिन यो उपकरण सहयोगी बन्ने विश्वाससहित आफूले उपकरण तयार पारेको ओलीको भनाइ छ ।

यसलाई थप व्यवस्थित बनाउन निरन्तर मिहेनत गरिरहेको उनले बताए । रासस

LIC
LIC



Ime Inside