सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ ३ । निर्वाचन आयोगले मंसिर १० र २१ गते दुई चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत् निर्वाचित भएका उम्मेदवारको नाम घोषणा गरेको छ ।
निर्वाचनको मतपरिणामअनुसार राजनीतिक दलले बन्दसूचीमा पेस गरी समावेशी सिद्धान्तअनुसार निर्वाचित भएको घोषणा गर्न सिफारिस गरेका उम्मेदवारमध्येबाटै नाम घोषणा गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको आयोगको बैठकले सातओटै प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने उम्मेदवारको नामावलीलाई टुंगो लगाएको हो ।
प्रदेशसभा सदस्य निर्वाचनमा सातओटा प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत् जम्मा २२० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।
दलहरुले प्राप्त गरेको मतलाई ‘सेन्टलग’ विधिबाट सिटमा रुपान्तरण गरी सिट यकिन गरेपछि राजनीतिक दलले छनोट गरी आयोगसमक्ष पठाएका उम्मेदवारलाई प्रदेशसभा सदस्यमा चयन गरिएको प्रवक्ता ढकालले जानकारी दिए ।
निर्वाचित उम्मेदवारको नामावली सम्बन्धित प्रदेशप्रमुखसमक्ष पठाउन, निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र प्रदान गर्न, सम्बन्धित राजनीतिक दललाई जानकारी गराउन तथा निर्वाचित उम्मेदवारको नामावली नेपाल राजपत्रमा अतिरिक्तांक गरी प्रकाशन गर्ने निर्णय भएको उनले बताए ।
प्रदेशसभाका समानुपातिकतर्फका निर्वाचित उम्मेदवारलाई आ–आफ्नो राजनीतिक दलसँग समन्वय गरी यही माघ ५ गते शुक्रबार दिनको १ः०० बजे आयोगमै प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम राखिएको छ ।
आयोगले निर्वाचित सदस्यलाई आयोगले नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र लिएर आउन भनेको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा