चुनाव अपडेट

भीषण वर्षापछी उत्पन्न बाढीबाट क्षतिको पुनःउत्थानका लागि रु ७३ अर्ब लाग्ने


 November 13, 2017     सेतो खबर

काठमाडौँ, कात्तिक २७। गत साउनमा गएको भीषण वर्षाबाट उत्पन्न बाढीले रु ६० अर्ब ७१ करोड ६६ लाख क्षति भएको प्रारम्भिक प्रतिवेदनले जनाएको छ । राष्ट्रिय योजना आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको बाढीपछिको पुनःउत्थानसम्बन्धी आवश्यकता आँकलन प्रतिवेदनले आवास, स्वास्थ्य, शिक्षाजस्ता सामाजिक क्षेत्र, कृषि, पशुपालन र सिँचाइजस्ता उत्पादनमूलक क्षेत्रमा असर पारेको जनाएको छ । प्रभावित क्षेत्रको पुनःउत्थानका लागि करिब रु ७३ अर्ब २४ करोड ४८ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले जानकारी दिनुभयो ।

उहाँले आगामी तीन वर्षमा तत्काल, मध्यकाल र दीर्घकालका लागि पुनःस्थापना रणनीति अवलम्बन गरिने बताउनुभयो । जोखिमलाई सम्बोधन गर्नका लागि आवश्यक रुपरेखाको प्रस्तावसहित प्रतिवेदन आफूले प्रधानमन्त्रीलाई बुझाएको बताउँदै डा वाग्लेले त्यसलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा रहेको बाढीपीडितको पुनःस्थापनार्थ विशेष एकाइमार्फत गरिने बताउनुभयो ।

उक्त प्रतिवेदनमा साउन २७ देखि ३० गतेसम्म गएको बाढीलाई मात्र लिइएको छ । बाढीबाट देशभरका ३५ जिल्ला प्रभावित र १८ जिल्ला अत्यधिक प्रभावित भएका थिए । उक्त प्रतिवेदन योजना आयोगले गृह मन्त्रालयले विपत्ति प्रभावित भनेर तोकेको १८ भन्दाबढी जिल्ला तथा नौ क्षेत्रका कार्यालयले तयार गरेको तथ्यांकमा आधारित थियो ।

डा वाग्लेका अनुसार बाढीले मुकुको समग्र अर्थतन्त्रमा भन्दा पनि सम्बन्धित जिल्लामा मात्र असर पार्ने देखिएको बताउँदै बाढीबाट प्रभावितको पुनःउत्थान नेपाल सरकारले नै गर्ने स्पष्ट पार्नुभयो । रासस

Ime Inside



Ime Inside