सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०५६ फाल्गुन १८ को ठिक ९.०० बजेको थियो । म लगायतका विद्यार्थी साथीहरु सुर्खेतको खजुराबाट (आफ्नै कोठा) गिरफ्तार भयौं । हामी अखिल(क्रान्तिकारी)को जिल्ला सम्मेलनको तयारीमा थियौँ । हामीलाई सिधै जिल्ला प्रहरी कार्यालय पुर्याइयो । चरम यातनाका बीच पनि बिचारको पहाड ढल्न नदिइएको कारण हामी जेल चलान भयौं । कलम र कापी बोक्ने हाम्रा कोमल हातहरुमा हत्कडी भिराइयो । उच्च शिक्षा हासिल गर्ने निर्दोष सपनाहरु चार दिवार भित्र कैद भए । चेतनाको दियो निभाउने दुस्चक्र भो ।
केही दिन पछि तत्कालीन नेकपा(एमाले) सुर्खेतका सचिव कमरेड ऋषि शर्मा र विद्यार्थी नेता भुपेन्द्र शाही हामीलाई भेट्न आउनु भयो । उहाँहरुले भन्नू भयो, “तपाईं छुट्नु पर्यो । अछामबाट कमरेड भिम रावलले पनि फोन गर्नु भएको छ । जसरी पनि छुटाउने प्रयास गर्नुस भन्नू भएको छ । मात्र कागजमा दस्तखत गरे पुग्छ ।” त्यसको मुल आसय अखिल(क्रान्तिकारी)को आबद्दता परित्याग थियो । उहाँकै आसय आफ्नो ठाउँमा ठिकै भए पनि मैले जवाफ दिएँ, “सिद्धान्तको बलि चढाएर छुट्न मन्जुर छैन ।”
क.ऋषि शर्मा त हाल हाम्रो सामु हुनु हुन्न । भुपेन्द्र जि कतै जागिरे हुनुहुन्छ । त्यसको केही दिन पछि मेरो बुबा मलाई भेट्न सुर्खेत जेल पुग्नु भयो तर म देश द्रोही(आतंककारी ) कहली सकेको थिएँ राज्यको नजरमा ।
बुबा धरीधरी रुदै जेलको गेट्मा भक्कानो छोड्न थाल्नु भयो । मैले निडर आत्माले भने,”बुबा! यो जेलको पर्खाल पुरै गलि सकेको छ । जुन सुकै बेला पनि ढल्न सक्छ । पर्खाल भत्काएर र हत्कडी तोडेर पनि हामी खुल्ला संसारमा आउछौँ । चिन्ता नलिनुस, दुस्मनको अगाडी रुनु हुदैन बुबा”
बुबा रुदै फर्किनु भयो । सायद सोच्नु भयो होला कि छोरो अब जेलबाट कहिलै फर्किएर आउने छैन, उ सदा जेलमै रहनेछ ।
सरकरी जागिरे बुबाको छोरो जेलमा बसेको छ । फलानाको छोरा जेलमा गयो नि भनेर कुरा काट्नेहरु हाम्रो समाजमा कमि कहाँ हुन्छ र ? दिनरात बित्दै जान्थे । सुर्य उदाउथ्यो र अस्ताउथ्यो तर रातमा पनि प्रकाश दिइरहने सुर्य कहिले आउला…..? खुल्ला आकाशतिर नयनहरु कुदिरहेका हुन्थे । घरमा आमाले बाटो हेरिरहेको सुन्थे । मन मनै भन्थे, “आमा जुनेली रातमा झोला बोकेर आउने छु…..। चिन्ता नलिनु है!”
मन भित्रका सबै भावनाहरुलाई बिचारको मुट्ठी भित्र कैद गर्दै झन्डै एक बर्ष बित्यो ।
२०५७ चैत्र ८ गते, हाम्रो अदालतमा पेस्शी हुने दिन । एक हुल प्रहरीले अदालत परिसरमा लगे । सबै चिनेजानेका साथी संगीहरु अदालत परिसर पुगे । त्यही मौकामा प्रहरीको घेराभित्रबाटै मैले हत्कडी तोडेर भागेँ । पुलिसका चेकपोस्ट छ्ल्दै र लुकामारी गर्दै सुर्खेतको भ्याली पार गरेँ । उन्मुक्त आकाशमा मालचरी झै जनताको घरदैलो हुँदै महान समरको यात्रा प्रवेश गरें । यसरी कलम र कापी बोक्ने हातहरु बन्दुकका ट्रीगर खेलाउन विवश भएँ । निजि जीवन र व्यक्तिगत स्वतन्त्रता भन्दा राष्ट्र र जनताको निम्ति जीवनको भिख नमागेर मुक्ति या मृत्युको कसम खाएर समाज परिवर्तनको निम्ति पाइलाहरु चालेको पनि दुई दशक बित्न थालेछ । तर केही पात्रका जीवन का रङ्गहरु बदलिएका छ्न।
म सुदूरपश्चिम प्रदेश सभाको सदस्य निर्वाचित भएर जनताको प्रतिनिधित्व गरिरहदा हामीले गरेका बाचाहरु छ्न र सुन्दर सपनाहरु छन । जुन जनता कार्यकर्ताले बारम्बार प्रश्न गरिरहेका छ्न । हामी जनतालाई पिउने पानी खै ? हाम्रो गाउँमा बाटो कहिले पुग्छ ? युवाहरु विदेश जान कहिले बन्द हुन्छ ? रोजगारिको ग्यारेन्टी भएको खै ? पुल कहिले बन्छ ? स्कुल कहिले बन्छन ? बजेटको समान वितरण किन हुदैन ? के यही हो कम्युनिस्ट सरकारले दिने ?
चुपचाप कुरा सुन्न विवश छ्न कानहरु । अन्याय देखेर सहन बाध्य छ्न अन्यायको विरुद्ध बोल्ने मुखहरु ।
चिन्ता छ राज्य बद्लियो तर स्वरुप नबदलिएकोमा क्रोध छ, शासक फेरिए तर चरित्र बदलिएन । आशा गरौं ! हामी समाजबादको गोरेटोमा कुद्ने छौ ।जनताको बिचमा जादा सबैले समानताको अनुभूति गर्ने छ्न । हो, पक्कै हुने छैन हाम्रो व्यवस्था लेलिनले उहिलै भने झै,”खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल ।”
(यो माननीय रावलले लेखेको लेख हो । उहाँ हाल नेकपा प्रदेश सचेतक र अछामबाट प्रदेश सभा सदस्यमा विजय भएर प्रदेश सभामा प्रदेशकै प्रतिनिधित्व गरिरहनु भएको छ ।)
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा