भर्खरै

कृति, संस्कृति र धार्मिकताको आकर्षण स्वर्गद्वारी


 June 28, 2019     सेतो खबर

वासुदेव पौडेल/प्युठान, असार १३ । स्वर्गद्वारी अर्थात स्वर्गको ढोका । शाब्दिक अर्थमा पनि स्वर्ग भन्नाले कुनै किसिमको दुःख, अशान्ति असर पार्न नसक्ने स्थान विशेषलाई बुझाउँछ ।

शब्दमा वर्णन गरे जस्तै प्रकृति, संस्कृति र धार्मिकताको अनुपम सङ्गम बनेको प्यूठानको धार्मिक पर्यटकीय स्थल हो स्वर्गद्वारी । यो नेपालका महत्वपूर्ण धार्मिक तीर्थस्थलमध्येको एक हो ।

यहाँ नपुगेसम्म हिन्दूहरूको तीर्थयात्रा अपुरो बन्ने जनविश्वासका कारण पनि यहाँ वर्षेनी ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायाले बताए ।

समुद्री सतहबाट दुई हजार १२२ मिटर उचाइमा अवस्थित रमणीय यसै तीर्थस्थलमा परापूर्वकालमा ऋषिमुनिले साधना गरी स्वर्ग गएकाले यस स्थानको नाम स्वर्गद्वारी रहेको किंवदन्ती छ ।

प्यूठानको भिङ्ग्री बजारदेखि विगतमा करीब तीन घण्टा हिँडेर यस स्थानमा पुग्ने गरिएकामा पछिल्ला समयमा भने मुख्य प्रवेशद्वार धरमपानीसम्म यातायातका साधन पुगेका कारण दर्शनार्थीलाई निकै सहज भएको छ ।

मुख्य प्रवेशद्वारबाट मन्दिर परिसरमा पुग्नका लागि भने ५८२ वटा सिंढी चढ्नुपर्छ । सिढी उक्लने क्रममा शरिरमा केही थकान भए पनि आश्रम परिसरकै ढोकामा पुगेपछि भने स्वर्गीय आनन्द प्राप्त हुन्छ ।

अत्यन्त गर्मी समयमा पनि मन्दिर परिसरमा आइरहने सिरसिरे हावाले जो कोहीको थकाइ विर्साइदिन्छ । मन्दिर परिसरमा गुन्जिरहने वेदध्वनिले त्यहाँ पुग्ने पर्यटकले छुट्टै अनुभूति गर्ने गरेका छन् । भिङ्ग्रीदेखि स्वर्गद्वारीसम्मको झण्डै साढे १३ किमि कच्ची बाटो भएकाले त्यसलाई कालोपत्रे गर्ने तयारी भइरहेको नगर प्रमुख रोकायाले जानकारी दिए ।

यस तीर्थस्थलमा आएर दर्शन गर्ने जो कोहीको मनोकांक्षा पूरा हुने गरेको विश्वासका आधारमा दैनिक ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको स्वर्गद्वारी नगरपालिका–९ का वडाध्यक्ष नरबहादुर विएमले बताए ।

स्वर्गद्वारी प्रकृति, संस्कृति र धार्मिकताको केन्द्र बनेको उल्लेख गर्दै उनले यसप्रतिको आस्था, विश्वासलाई कायम गराउन पूर्वाधार विकास राज्यको प्राथमिकतामा पर्नुपर्ने बताए ।

स्वगद्वारीमा सबैभन्दा ठूलो मेला वैशाख शुक्ल पूर्णिमाको दिन लाग्छ । तीर्थस्थलभित्रको आश्रम परिसरमा महाप्रभूले रचना गरेका विभिन्न श्लोक, त्यहाँ पालना गर्नुपर्ने शर्त वा नियम आदि उल्लेख छ । तीर्थयात्रीले यहाँ रहेको प्रभू गुफा अर्थात महाप्रभूको समाधि स्थलको दर्शन गर्दछन् ।

मन्दिर परिसरभित्र लघुरुद्री, वेदपाठ गर्न धर्मशालाको निर्माण गरिएको छ भने यज्ञशालाको माझमा ठूलो हवन कुण्ड रहेको छ । हवन कुण्डमा महाप्रभूले आफनो मन्त्रको प्रभावमा आगो प्रज्वलित गर्नुभएको भन्ने जनविश्वास छ ।

स्वर्गद्वारी दर्शनका लागि स्वदेशका विभिन्न स्थानका साथै भारतका विभिन्न ठाउँबाट दर्शनार्थी आउने गरेको वडा अध्यक्ष विएमले जानकारी दिए । आश्रम परिसरमा नै भण्डार घर, पुस्तकालय भवन, वेदाश्रम, कुटीलगायतका संरचना निर्माण गरिएको छ ।

स्वर्गद्वारीको अर्को आकर्षण यहाँस्थित गौशाला हो । स्वर्गद्वारी महाप्रभूले विसं १९५२ वैशाख शुक्ल पूर्णिका दिन उक्त स्थानमा महायज्ञ सुरु गर्नुभएकामा त्यसै समयमा एउटा गाईबाट गौशालाको थालनी भएको स्वर्गद्वारी आश्रम सञ्चालक समितिका कोषाध्यक्ष वासु भट्टराईले जानकारी दिए । हाल गौशालामा ३५० वटा गाई छन् ।

उनका अनुसार समितिको सक्रियतामा पुरातत्व विभागबाट त्यहाँस्थित यज्ञशालाको मर्मत हुँदैछ । नेपाल पर्यटन बोर्डले सिंढीमा ढुङ्गा बिच्छ्याउने कामका लागि २५ लाख रुपैयाँ छुट्याएको छ । प्रदेश नं ५ को समाजिक विकास मन्त्रालयको सहयोगमा धरमपानीमा गौशाला निर्माण भैरहेको र प्यूठानका व्यापारी मेघराज कक्षपतीको सहयोगमा धर्मशाला निर्माण कार्य भइरहेको उनले जानकारी दिए ।

पोखरेली पर्यटन व्यवसायीको चासो

स्वर्गद्वारीको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्न पोखरेली पर्यटन व्यवसायीले चासो देखाएका छन् । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवम् पर्यटन यातायात समिति, पोखराको आयोजनामा हालै स्वर्गद्वारीको प्रवद्र्धनात्मक भ्रमण गरिएको समितिका अध्यक्ष बोबरजङ्ग गुरुङले जानकारी दिए ।

भ्रमणका क्रममा अत्याधिक धार्मिक पर्यटक पुग्ने स्थल भएर पनि त्यहाँका स्थानीयवासीले अधिकतम लाभ लिन नसकेको आँफूहरूले पाएको उनले बताए ।

नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले स्वर्गद्वारीबाट त्यहाँस्थित नगरपालिका एवम् स्थानीयवासीले लाभ लिन सक्ने गरी पूर्वाधार विकास गर्दै व्यवसायिकतामा जोड दिनुपर्ने धारणा राखे ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले स्वर्गद्वारीको पर्यटकीय आकर्षणलाई अधिकतम उपयोग गर्न सक्ने गरी प्रभावकारी व्यवस्थापन एवम् पर्यटक लक्षित पूर्वाधार विकास आवश्यक रहेकामा जोड दिए । स्वर्गद्वारीलाई पोखराको पर्यटनसँग जोड्न आफूहरू तयार रहेको थापाको भनाइ छ । रासस

LIC
LIC



Ime Inside