सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुरेन कुँवर/चितवन, असार ८ । प्राङ्गारिक खेती प्रणालीबाट कृषि पेशा गरिरहनुभएका चितवनका चन्द्रप्रसाद अधिकारीले यस वर्ष ११४ जातको धानको बीउ राखेका छन् । अघिल्लो वर्ष ११२ जातको धानको बीउ राखेका उनले यस वर्ष थप दुई नयाँ जातको बीउ राखेका हुन ।
चितवनको भरतपुर महानगरपालिका–१५ श्रीपुरका अधिकारीले करीब दुई बिघा क्षेत्रफलमा यो बीउलाई रोप्ने तयारी गरेका छन् । विसं २०६४ मा सात जातको धानको बीउबाट जात बढाउने अभियानमा लागेका उनले अहिले ११४ जातको पुर्याएरका छन् ।
करीब दुई कठ्ठामा एक पाथीका दरले छुट्टाछुटै ड्याङ बनाएर उनले गत जेठ २७ मा बीउ राखेका हुन् । यो धानको बीउ असार १५ गतेदेखि रोप्ने तयारीमा जुट्नु भएको छ । धान दिवसको दिन कार्यक्रम गरेर उनले दुई बिघामा ती धान रोप्ने गर्छन् ।
नेपालका विभिन्न जिल्ला, भारत, बङ्गलादेश र अमेरिकाबाट धानको बीउ सङ्कलन गरेर ल्याएको उनले जानकारी दिए । ‘अमेरिका र दक्षिण कोरियाबाट पनि धानको बीउ ल्याएँ’, उनले भने, ‘ती धानका बीउ उमार्न सकिएन । नेपालका उच्च भेगमा पाइने धानको बीउ पनि यहाँ उम्रिएन ।’
मार्सी, जुम्ले मार्सी र मार्सी चङ्गोलजस्ता पहाडमा पाइने धान भने उहाँले वर्षेनी रोप्दै आइरहेका छन् । रैथाने एवं उन्नत जातका स्थानीय धानलाई संरक्षण गर्न वर्षेनी यो काम गर्दै आइएको उनको भनाइ छ । जीवित बीउ बैंकका रुपमा विकास गर्ने चाहना भएको उनी बताउँछन् ।
मनसारा, आछामे मसिनो, आँपझुत्ते, सत्तरी, जेठो बूढोलगायतका धान लोप हुने अवस्थामा पुगेको भन्दै उनले यसको संरक्षणमा सबै जुट्नुपर्ने बताए । उनका अनुसार नेपालमा २०० भन्दा बढी धानको जात पाइने र त्यसमध्ये ६० रैथाने र अन्य उन्नत तर अहिले स्थानीय भइसकेका धानको बीउलाई संरक्षण गरेका छन् ।
उनले धानको बीउ संरक्षण गर्न निफन्ने, सुकाउने र मुसाले नखाने गरी गोदाममा भण्डारण गर्दै आइरहेका छन् । उनका अनुसार रैथाने जातका अन्य बालीको संरक्षणमा वार्षिक एक लाखभन्दा बढी खर्च हुने गरेको छ ।
अधिकारीले नेपालीहरुमा उन्नत जातको नाममा परनिर्भता बढेको भन्दै चिन्ता व्यक्त गरे । ‘उन्नत जातको धान लगाउने चलन व्यापक छ’, उनले भने, ‘अरुले बीउ दिए उत्पादन गर्न सक्छौँ । नत्र हामीसँग बीउकै कारण कुनै वर्ष भोकै बस्नुपर्ने अवस्था आउन सक्छ ।’
अधिकारीले रैथाने जातका धनलाई संरक्षण एवं प्रवद्र्धन गर्न नेपाल सरकार लाग्नुपर्नेमा जोड दिए । उन्नत जातका बिउ खरीदका लागि वर्षेनी ठूलो रकम बिदेसिने गरेको छ । उन्नत जातका धान केही वर्ष राम्रै उत्पादन भए पनि स्थानीय जातको धानमा पाइने पौष्टिक तत्व त्यसमा नपाइने उनको भनाइ छ । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा