सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पहिले पहिले चाडपर्बहरु धेरै लोकप्रिय हुनुको एउटा कारण खानपान पनि हो। खासगरी मासुका लागि दशै परिचित थियो तर हिजोआजको अबस्था त्यस्तो छैन । मासु स्वास्थ्यका लागि एकदमै लाभदायक खाना हो तर मासुको प्रकार साथै यसलाई पकाउँदा वा खाँदा केही कुरामा विचार पुर्याउन आवश्यक छ।
मासु पौष्टिक पदार्थले भरिपूर्ण हुन्छ। स्वस्थ जनावरको अनप्रोसेस्ड मासुमा धेरै प्रकारका पौष्टिक तत्वहरु पाइन्छन्। बी १२, बी ३, बी ६, आइरन, जिङ्क, सेलेनियमजस्ता भिटामिन र खनिज तथा उच्च प्रोटिन मासुमा हुने गर्छ। दाना खुवाइएको भन्दा घाँस खुवाइएको जनावरहरुमा पाँच गुणा बढी ओमेगा–३ पाइन्छ।
वनस्पतिमा भिटामिन बी १२ नपाइने हुनाले शाकाहारीमा यसको कमी भएको उदाहरण देखिन्छन्। मानव शरीरका लागि अत्यावश्यक तत्व प्रोटिनको मुख्य स्रोतका रुपमा मासुलाई लिन सकिन्छ । मासु र वनस्पति दुवै चिज खाँदा मानव शरीरले राम्ररी काम गर्ने विज्ञहरु बताउँछन्।
उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, युरिक एसिड– पछिल्लो समय शहरिया नेपालीको घरैपिच्छेको समस्या बनेको छ। बढ्दो शहरीकरण, बदलिएको जीवनशैली, आर्थिक दबाब र तनाव यसको कारण रहेको आमबुझाइ छ। यो समस्याबाट पार पाउन चिकित्सकहरू सल्लाह दिन्छन्– नियमित व्यायाम, तनावरहित जीवनशैली र मांसहारी भए ‘ह्वाइट मिट’। थुप्रै खालका ‘ह्वाइट मिट’ मध्ये सबभन्दा सहज र सुलभ बनेको छ– ब्रोइलर कुखुरा ।
खासगरी, रातो मासुमा स्याचुरेटेड चिल्लो बढी हुने हुनाले त्यो बिरामीका लागि घातक मानिन्छ। स्याचुरेटेड चिल्लोले कोलेस्टेरोलको मात्रा बढाउँछ, जसले रक्तप्रवाहमा अवरोधलगायतका समस्या उत्पन्न हुनसक्छन्। त्यसैले डाक्टरहरु खानामा स्याचुरेटेड चिल्लोको मात्रा १० प्रतिशतभन्दा कम हुनुपर्ने सल्लाह दिन्छन्। त्यसैले शरीरमा उच्च कोलेस्टेरोल हुने व्यक्तिले रातो मासु सकेसम्म कम खानुपर्छ।
मुटु तथा मधुमेहका रोगीले मासुको तुलनामा माछा खानु राम्रो हुन्छ। यद्यपि तेलमा तारेको माछाले पनि स्वास्थ्यमा नराम्रै असर गर्छ।
सबैभन्दा सुरुमा हामीले मासु किन्ने बेलैमा ध्यान दिन जरुरी छ। रोगी वा मृत जनावरको मासु स्वास्थ्यका लागि जोखिमपूर्ण हुने हुनाले मासु किन्दा जनावर स्वस्थ छ कि छैन, विचार पुर्याउनुपर्छ। मासु किनेर घरमा ल्याइसकेपछि पकाउनुअघि त्यसमा रहेको बोसोलाई हटाउनुपर्छ। सानासाना टुक्रा पारेर काटिएका मासुमा पनि बोसो हुने गर्छ। तिनलाई ध्यानपूर्वक हटाउनुपर्छ।
मासुलाई तेलमा तार्ने, अत्यधिक मरमसला हाल्ने गर्नाले त्यो अखाद्य बन्न पुग्छ र त्यस्तो खानाले स्वास्थ्यलाई नोक्सान पुर्याउँछ। मासु पकाउने स्वस्थ तरिकाहरु छन्, जसमध्ये ओभनमा रोस्ट गर्ने वा बोइलिङ गर्ने, ग्रिल गर्ने, प्रेसर कुकरमा हालेर छोटो समयमा पकाउने वा थोरै तेलमा उच्च तापमा पकाउने गर्नाले मासुमा रहेको पौष्टिक तत्व नष्ट हुदैँन। धेरै तेलमा लामो समयसम्म फ्राइ गर्नु राम्रो मानिदैन तर ध्यान दिनुपर्ने कुरा के हो भने मासु पाक्दा त्यसमा रहेको पौष्टिक तत्व नष्ट नहोस् र अतिरिक्त चिल्लो नथपियोस्।
ब्रोइलर उपभोगको व्यापकतासँगै बढेको पौष्टिकताका कारण नेपालीको शरीरको आकार पनि बढेको मानिन्छ। यसक्रममा एउटा डरलाग्दो तथ्य फेला परेको छ– कुखुराको मासु मार्फत स्वास्थ्यका लागि एकदमै हानिकारक एन्टिबायोटिक पनि नेपालीको शरीरमा प्रवेश गरिरहेको छ।
पछिल्लो पुस्ताका नेपालीको शारीरिक वृद्धिमा कुखुराको मासु मार्फत पौष्टिकता पूरा भएर भन्दा पनि ब्रोइलरलाई छिटो हुर्काउन दिइने ग्रोथ हर्मोनको कारण भइरहेको छ। कुखुरालाई दिइएको एन्टिबायोटिक्स मासु मार्फत लिंदा हाम्रो शरीर कुनै रोग लाग्ने वित्तिकै हाइडोजको एन्टिबायोटिकले समेत छुन नसक्ने अवस्थामा पुगिरहेको छ भने ग्रोथ हर्मोनले बालबालिकालाई हलक्क बढाइरहेको छ। १० वर्षको बालक वयस्क जस्तो वा किशोर उमेरमै अधबैंसे जस्तो देखिनुको प्रमुख कारण यही भएको विज्ञहरूको भनाइ छ।
जेन्टामाइसिन, इनरोफ्लसासिन, टेट्रासाइक्लिन, अक्सिटेट्रासाइक्लिन, ईरीथ्रोमाइसिन, स्ट्रेपटोमाइसिन, एमोक्सिलिन, डक्सिसाइक्लिन, नियोमाइसिन, सल्फाडाइजिन, टि्रफाडाइजिन, ट्राईमीथोप्राइम, नरफ्लोक्ससिन, अमिकासिन, कोलिस्टाइन, म्याक्रोलिड्स, अमिनो ग्लाकोसाइड्स, सल्फनामाइड, पेनिसिलिन जस्ता एन्टिबायोटिकको प्रयोग बढी हुने गरेको पाईन्छ ।
स्वस्थ परिवार र समाजको लागि छोटो समयमा बढी मुनाफा कमाउनको लागि गरिने एन्टिबायोटिकको अनाधिकृत प्रयोगलाई समयमा नै कमि गर्नु आजको आवस्यकता बनेको छ । यसलाई हामि सबैले मनन गर्नु जरुरी देखिन्छ ।
लेखक : बिनोद पन्त ( प्रो:- सेवक फर्मा )
भरतपुर ,चितवन
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा