भर्खरै

समुद्री आँधी वायु: भारतको गुजरात राज्यमा बज्रिँदै, तीन लाख मानिस स्थानान्तरित


 June 13, 2019     सेतो खबर

पश्चिम भारतको गुजरात राज्यमा ठूलो आँधी आउनुअघि जोखिम हुने अनुमान गरिएका क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने क्रम भइरहेको अधिकारीहरूले बताएका छन्।

वायु नाम दिइएको शक्तिशाली आँधी तटीय क्षेत्रमा बिहीवार बिहान आइपुगेपछी त्यसको वेग प्रतिघण्टा १६० किलोमिटर हुने अनुमान गरिएको छ। अहिले त्यो आँधी पोरबन्दर नजिकै आइपुगिसकेका मौसमविद्हरूले बताएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले आँधी आउने स्थानमा मानिसहरूलाई सुरक्षित रहन आग्रह गरेका छन्।

पूर्वतयारीका लागि अधिकारीहरूले तीन लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिसकेको बताइएको छ।

रेल तथा हवाई उडान सेवा तत्कालका लागि स्थगित गरिएको छ भने गुजरातको प्रमुख समुद्री बन्दरगाह पनि बन्द गरिएको छ।

विद्यालयहरू पनि बन्द गर्न आदेश दिइएको छ।

भारतको राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले जोखिममा पर्न सक्ने क्षेत्रमा विपद् व्यवस्थापन टोलीहरू खटाएको छ। विपद् व्यवस्थापन शिविरहरू पनि खोलिएका छन्।

उक्त आँधी पोरबन्दरनजिकै तटीय क्षेत्रमा बिहीवार बिहान बज्रिने अनुमान गरिएको छ।

त्यसको गति १५० देखि १७० किलोमिटर प्रतिघन्टाको हुने मौसमविद्को भनाइ छ।

एउटा ट्वीटमा प्रधानमन्त्री मोदीले आँधीको बाटोमा पर्ने स्थानका मानिसहरू सुरक्षित हुन् भन्ने आशा व्यक्त गरेका छन्।

सरकार तथा स्थानीय निकायले महत्त्वपूर्ण सूचना तत्कालै प्रवाह गरिरहेको बताइरहेका छन्। बिबिसि

LIC
LIC



Ime Inside