भर्खरै

सिन्धुलीमा देखापरे बम्जन


 May 18, 2019     सेतो खबर

सिन्धुली, जेठ ४ । अनुयायीलाई बेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जन शुक्रबार कमलामाई–८ पैरेस्थित आश्रममा देखापरेका छन्। प्रहरीले खोजी गर्न थालेपछि उनी ६ महिनादेखि सार्वजनिक भएका थिएनन्। यो खबर आजको अन्नपुर्णपोष्ट दैनिकले छापेको छ ।

अनुयायीले बम्जन पुसदेखि पैरे आश्रममा रहेको बताउँदै आएका थिए। प्रहरीले भने खोजी गर्दा नभेटिएको जनाउँदै आएको थियो। तर, शुक्रबार बोधी श्रवण धर्म संघ सिन्धुलीले आयोजना गरेको १४ औं विश्व शान्तिमैत्री पूजामा अनुयायीसँगै उनी सार्वजनिक भए। २३ राष्ट्रबाट ४ सय महात्मा गुरुसहित शुक्रबार ६ हजारभन्दा बढीलाई बम्जनले दर्शन दिएको संघका केन्द्रीय सदस्य छत्र घिसिङले बताए।

‘१४ औं विश्व शान्तिमैत्री पूजाका अवसरमा बिहीबारदेखि आश्रममा आयोजित अनुष्ठानमा गुरुले सबैलाई दर्शन दिइरहनुभएको छ’, उनले भने, ‘यो पूजामा शुक्रबार दिउँसोसम्ममा विभिन्न देशका नागरिकसहित ६ हजारभन्दा बढीले दर्शन गरेका छन्। गुरुको दर्शन शनिबार साँझसम्म गर्न पाइन्छ।’

प्रहरी र अनुयायीको घेराभित्र रहेका बम्जनले आफूविरुद्ध लागेका आरोपलगायत कुनै पनि विषयमा प्रतिक्रिया दिएनन्। अनुयायीले भने सबै आरोप खारेज भएको दाबी गरे। संघका पूर्वअध्यक्ष कमानसिंह तामाङले सबै आरोप मिथ्या भएको जिकिर गरे। ‘गुरु (बम्जन)माथि निराधार आरोप लगाइएको हो। त्यसमा कुनै सत्यता छैन’, उनले भने, ‘गुरुको आफ्नो दिव्य वचन, अनुष्ठान र तपस्याले त्यस्ता सबै आरोपलाई खारेज गरेको छ।’

बम्जन आरोप लागेपछि बेपत्ता नभएको दाबी उनले गरे। विश्वमैत्री भाषा र लिपिको तयारीमा जुटेकाले बाहिर देखानपरेको तर्क उनले गरे। उनका अनुसार विश्वमैत्री भाषा, लिपि र वाचन कार्य सुरु भएको छ।

बम्जन विभिन्न आश्रममा बस्दा पाँच जना अनुयायी र आनी बेपत्ता पारेको, आनीलाई यौन दुव्र्यवहार गरेकोजस्ता आरोपमा बम्जनविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको थियो। बाँडेगाउँको आश्रममा नुवाकोटका सञ्चलाल वाइबाको हत्या गरी बेपत्ता बनाएको भन्दै उनका छोरा महेन्द्रले सिन्धुपाल्चोक र मकवानपुर प्रहरीमा किटानी दिएका थिए। बेपत्ता भनिएका सुरेश आले मगरको खोजीका लागि बारामा, सञ्चलाल र फूलमाया रुम्बा (पासाङ) को खोजी गर्न मकवानपुर, सिन्धुपाल्चोकमा र चुन्माले चिनिने चिनीमाया तामाङको खोजीका लागि नुवाकोट प्रहरीमा निवेदन दिइएको थियो। चारै जना २०६९ देखि २०७२ को बीचमा बेपत्ता भएको बताइएको छ।

पैरे आश्रममा दैनिक हजारभन्दा बढी अनुयायी आउने गरेका छन्। उनीहरूले बिहीबार र शुक्रबार तीन घण्टा लाइनमा बसेर बम्जनको दर्शन गरे।

LIC
LIC



Ime Inside