भर्खरै

अण्डाको मूल्य बढ्यो


 May 13, 2019     सेतो खबर

भक्तपुर, बैशाख ३० । अण्डाको मूल्य बढेपछि कृषकलाई राहत मिलेको छ ।

लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्न बाध्य परेका किसानलाई नेपाल अण्डा उत्पादक सङ्घको नयाँ मूल्य निर्धारणले राहत मिलेको हो ।

सङ्घका अनुसार किसानको फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु २५० तथा मध्यमखालको अण्डा प्रतिक्रेट रु. १८० तोकिएको छ ।

यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु. २०० र मध्यमको रु. १३० रहेको सङघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए ।

उत्पादन लागत नोक्सानीमा थियो’, उनले भने, ‘लागत मूल्यअनुसार अझै कम मूल्य हो ।’ उनले बजारमा माग बढेसँगै अण्डाको मूल्य बढेको बताए ।

बैशाख २ गतेदेखि किसानको लागत मूल्यभन्दा निकै कम निर्धारण गरी अण्डाको मूल्य रु. २९० बाट घटाएर रु. २०० कायम गरिएको थियो ।

बजारमा अण्डा स्टक रहेको र तोकेकोभन्दा कम मूल्यमा बजारमा व्यापार भएपछि सङ्घले प्रतिक्रेट रु.२०० मूल्य तोकेको थियो ।

किसानको उत्पादन लागत मूल्य प्रतिगोटा रु.१० पर्छ । बजार मूल्य भने अण्डाको प्रतिगोटा रु.१२ पर्छ ।

केही वर्षअघि अधिकतमसम्म अण्डाको मूल्य प्रतिक्रेट रु. ३६० सम्म पुगेको थियो । ‘अण्डाको मूल्य घट्ने-बढ्ने भइरहन्छ, कँडेलले भने, ‘बजारको अवस्था हेरेर २५० देखि ३०० औशतमा मूल्य निर्धारण हुने गरेको छ ।’

कृषकबाट उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिसन खुवाउनुपर्ने भएकाले किसानले उचित मूल्य पाउन नसकेका हुन् ।

विचौलिया प्रभाव घटाएर कृषक र उपभोक्तालाई लाभ पुग्ने गरी मूल्य निर्धारण गर्नुपर्ने किसानको माग छ ।

एकसाताअघिसम्म लागत मूल्यअनुसार अण्डाको मूल्य नपाएको भन्दै चितवनका किसान आन्दोलित भएका थिए ।

नेपालमा दैनिक ४५ लाख अण्डा उत्पादन हुन्छ । यस पेशाबाट प्रत्यक्षरूपमा एक लाख ५० हजार बढी व्यक्तिले रोजगारी पाएका छन् ।

सात हजार बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन् । देशमा पोल्ट्री क्षेत्रमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेल बताउँछन् । पोल्ट्री क्षेत्रमा रु. ८० अर्बभन्दा बढी लगानी रहेको जानकारी दिए । -रासस

LIC
LIC
LIC



Ime Inside