सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
म पेशाले एक पत्रकार हो। पत्रकार शब्दको अगाडी उल्लेख गरेको पेशा शब्द अचेल लगाउनै मन लाग्दैन किनकी धेरैको मुखबाट सुन्छु, पत्रकारिता त एक पार्डटाइम, टाइमपास हो भनेर संगै आफ्नो जिवनमा पनि त्यस्तै त्यस्तै त भैरहेको छ, टाइमपास जिन्दगी । यदि पत्रकारिता सबैका लागि पेशा हुदो हो त म पनि तल्ला घरे जागिरे ठुल्दाइले जस्तै आमालाई सधैं खुशी पार्न सक्थे होला । बिरामी हुदा मेरि आमालाई तु. अस्पताल पुर्याउन सक्थे होला । बाबालाई धेरै नभए पनि दमको उपचार गराउन सक्थे होला । यस्तै केही सानातिना समस्याहरु त हल हुन्थे होला यदि पत्रकारिता पेशा भैदिएको भए ।
पत्रकार राज्यको चौथो अंग, आम नागरिकको तेश्रो आँखा भनिन्छ तर राज्यका तीन अंगलाई बाच्न केही गार्हो छैन चौथो भनिने पत्रकारलाई बाच्न निकै गार्हो छ वर्तमान नेपालको स्थिति हेर्ने हो भने तर सबै पत्रकारलाई बाच्न गार्हो छ त भन्दिन कोहि सरकारी पत्रीका संगठन तर्फ लागेर बर्षमै धनाड्री भएका पनि छन जो सम्पती लुकाएर गरिब देखाउछन आफुलाइ । कसैले पत्रकारिताको शक्ति दुरुपयोग गरेर लाखौं हसुरेको पनि हामीलाइ थाहा छ । तर एक इमानदार अनि निष्पक्ष पत्रकारलाई जेबमा एक सय रुपैयाँ आम्दानी गर्न पनि हम्मेहम्मे पर्दो रहेछ । हुन त धेरै मान्छे प्रयोग मात्र गर्छन अथवा सिधै भन्ने हो भने अर्कोलाई प्रयोग गरेर आफू लाभ लिन्छन, काम गरेता पनि पारिश्रमिक दिदैनन ।
मसंग यस्ता थुप्रै घटना छन, अहिल नाम नखोलौं पत्रीकाको, चार महिना काम गराएर अन्तिममा किर्ते आरोप लगाई पारिश्रमिक नदिएको घटना पनि मैले भोगेको छु । त्यो चार महिनाको अवधीमा मैले केही समाचार खाना पनि नखाएर लेखेको थें, छापा पत्रीका भएकाले, दिउसोको समयमा आफै बाडेको थिए केही दिन तर फल नमिठो पाएं यस्तै एक उर्जाशिल पत्रकारहरुले धेरै समस्याहरु भोग्नु परिराखेको छ जसले इमानदार पत्रकार न घरको न घाटको जस्तो बन्ने स्थितिमा नपुग्ला भन्न सकिन्न । बाहिर सबैले सम्मान गर्ने पत्रकार छोराले घरमा आमाले सधैं यो काम नगर बाबू भन्दै कचकच गर्नुहुन्थ्यो अझै पनि गर्नुहुन्छ, बाबाले यसमा त डर हुन्छ भन्छन कसैसँग निहुँ नखोज्नु है भन्दै सम्झाउनु हुन्थ्यो ।
सानै उमेरदेखि पत्रकारितामा लागेको मैले जिन्दगीका जानिनजानी धेरै कुरा बुझिसकेको छ । अहिल त म एक्लो जिन्दगीमा छैन, साथ दिनेहरु पनि छन, हात दिनेहरु पनि छन । जिन्दगी त सबैको कष्टपुर्ण अनि संघर्षपुर्ण हुन्छ, हरेक काम वा हरेक क्षेत्रमा लागेको मान्छेको जिन्दगी कष्टपुर्ण नै हुन्छ । चाहे कुनै ठुलो व्यापारी किन नहोस उसले संघर्ष नगरेर, कष्ट नगरेर त्यहाँ सम्म पुगेको हुदैन यो एक उदाहरण हो । केही नगरि सोफामै बसिराख्नु पनि संघर्षपुर्ण काम हो किनकी मानिस चेतनशील प्राणी हो यत्तिकै धेरै लगातार बसिराख्न नै सक्दैन । अन्यभन्दा पत्रकार अनि पत्रकारिता धेरै संघर्षपुर्ण अनि कष्टप्रद पेशा एवं काम हो जस्तो लाग्छ मलाई । यो स्वभाविक पनि हो, म यहि क्षेत्रको भएर पनि मलाई यस्तो लागेको हुन्छ किनकी सामान्यतया खुला आकाशमा उडेको चराले पिजडामा रहेको सुगाको जिन्दगी नै सुखी देख्छ ।
कक्षा ८ पढ्दा देखि नै मेरो पत्रकारितामै लाग्ने रुचि थियो, भनौं न त्यो सानै उमेर थियो, जतिबेला मैले गन्तव्य बनाईसकेको थिएं । मेरो मानसपटलमा पत्रीकाहरु धेरै आउथे । यतिसम्म कि दैनिक रुपमा कक्षा ८ को गणित बिषयको ट्युसन कक्षा लिन बजार आउदा होस या सामान्य कामले बजार आउदा होस त्यतिबेलाको चर्चित पत्रीका कान्तिपुर दैनिक र नेपाल म्यागजिन नकिनेर नपढेको दिन हुन्थेन । प्रायः चकित हुन्थे वरपरका स्थानीयहरु पनि त्यो देख्दा । त्यसैले पनि आज यो क्षेत्रमा चिनिएं । आफ्नो रुचि एवं इच्छालाई तीन बर्षमै मैले वास्तविक जिवनमा लागु पनि गरेर देखाएं । कक्षा ११ मा क्याम्पस पढ्न लागेको करिब ५ महिना भएको थियोे । मलाई यतातर्फ लाग्न निकै मन लाग्ने । दैनिक रुपमा बजार आवतजावत र क्याम्पसमा केही अग्रजहरु संगको परिचयले पनि मलाई उत्साहित बनाएको थियो ।
म दैनिक रुपमा केही नयाँ कुराहरू उठाएर तिनलाई समाचारको रुप दिन थाले । कक्षा ८ मा लिएको उद्घोषण तालिम बाहेक म संग यसका लागि लिएका अन्य केही तालिमहरुको ज्ञान थिएन । सायद त्यसबखतका मैले समाचार लेख्ने तरिका वा दिने सुचनाको लेखाइ गलत थियो तर मैले सिक्ने क्रममा पनि आफुलाइ कोहि भन्दा कम नठानी लेखिरहें, अझै पनि त सिकाइ मै त छु । मलाई सामाजिक सञ्जाल फेसबूकले पनि दर्हो मद्दत गर्यो त्यसबखत । नयाँ नयाँ इस्युहरु पत्ता लाउदै समसामयिक बिषयमा लेखिरहदा, सामाजिक सञ्जालमा धेरै संग जोडिरहदा, सुचना प्रवाह गरिरहदा मेरो काम जस्तै बनिसकेको थियो यो क्षेत्र । कक्षा १२ पढ्दा त कति पिरियड छाडेर पनि विभिन्न कार्यक्रममा उपस्थित भएको, जहाँ घटनाहरु हुन्थे त्यहीँ पुगेर पनि यतातिर बढी ध्यान केन्द्रित गरियो ।
सानै उमेरदेखि पत्रकारिता गर्ने इच्छा थियो र लागे पनि, आफुलाई धेरैका अगाडी चिनाएं पनि तर आमालाई कहिल्यै खुशी बनाउन सकिन
दैनिक रुपमा सुवर्णपुरबाट टीकापुर बजार पुग्नैपर्ने लत बसिसकेको थियो । तर दु:खद घरबाट काममा निस्कन्छु भन्दै ९ बजे घरबाट निस्कने मैले मेरि आमालाई कहिल्यै सय रुपैयाँ दिन सकिन । यो मेरो मात्र हैन म जस्तै हजारौं पत्रकारहरुको समस्या हो । यदि त्यसबखत आमाबुवालाई म काम गर्छु भनेर झुट नबोलेको भए सायद आज म पत्रकारिताबाट टाढा हुन्थे, मेरो रुचि मर्थ्यो । पत्रकारिताकै लागि बुवाआमा संगको जबर्जस्ति सहमतीमा कक्षा १२ को परीक्षा समेत रद्द गरेको थिएं मैले । यो लज्जास्पद पनि हुनसक्छ तर यसको मतलब मेरो पत्रकारिता संग यति गहिरो सम्बन्ध छ भन्न खोजेको तर जो संग गहिरो सम्बन्ध हुन्छ त्यसले नै तड्पाउदो रहेछ बारम्बार । त्यतिबेला पनि लाग्थ्यो र अहिल पनि लाग्छ, “पत्रकारिताको लागि त म मर्न पनि सक्छु, मेरा घर वरपरकाले मैले लेखेका समाचारहरु हेरुन जो मलाई केही गर्न सक्दैनस भन्थे, नागरिकहरुले सत्य सुचना अनि समाचार पढ्न पाउन र मलाई सबैले आशिर्वाद दिउन ।”
अहिलेसम्म पनि सोच्छु, “साचो सुचना सम्प्रेषण गर्न पछि हट्दैन, जुठो खाएर के पत्रकारिता गर्नु । जुठो खाएर लेखेको झुठो समाचारहरुले गर्दा पुरै पत्रकारिता जगत नै बदनाम भएको छ । यसलाई त सफा पो गर्नुपर्नेछ ।” अनि सम्झन्छु, “के झुठो बोल्ने र लेख्नेलाई जनताहरुको पाप नलाग्ला? एउटा कुरा कक्षा ५ मै सिकेको थें, हत्या गर्ने हत्यारा भन्दा ठूलो अपराधी त्यो घटना टुलुटुलु मान्छे हुन्छ । पत्रकार निष्पक्ष हुनपर्छ । यदि पत्रकारले झुठो लेखे त्यो अपराध गरे समान हो ।” यदि म पनि त्यस्तै हुन्थे भने २० बर्षकै उमेरमा आमाबुवालाई सम्पन्न सहरमा राखेर आफ्नै छुट्टै मिडिया खोलेर काम गर्थे होला । तर मलाई त्यो लोभ अनि चाहना कदापी छैन चाहे मेरि आमा क्यान्सर लागे किन नछटपटाउन, बाबा औषधि अभावमै किन नमरुन ।
एक फेरा पुनः अगाडी फर्किन मन लाग्यो, घरबाट काममा निस्कन्छु भन्ने छोराले आमालाई चिनी किन्न ८० रुपैयाँ माग्दा पनि छैन भन्दै टाउको निहुराउनुपरेको दिन अनगिन्ती छन । बरु आमा संगै रुपैयाँ मागेर खर्च चलाईरहेको हुन्थें । “पकेट खर्च पनि कमाउन हम्मेहम्मे पर्दो रहेछ केही गर्न खोज्नेलाई” एकपटक गम्भीर हुँदै सोचेको थिएं अनि सम्झे केही मान्छेले पत्रकारिता त पेशा नभई टाइमपास मात्र हो, फुर्सदको समयमा मात्र गर्ने कुरा हो भनेको । तर मलाई पैसाको लागि नभएर आवाज बिहिनहरुको आवाज बन्न पत्रकारिता गर्न रुचि बढेको र मन लागेको हो जो कहिल्यै मर्ने छैन । आमाले पत्रकारितामा लागेर कहिल्यै खुशी पार्न नसकेपनी उत्पीडित, हेलित, अपमानितहरुका कुराहरु लगायत स्थानीय तहका कुरा, भ्रष्टाचारका कुरा ल्याउदा सायद धेरै आमाहरूका आशीर्वाद पाएको छु ।
अहिल त मेरि आमा पनि सन्तुष्ट नै छन मेरो खुशीमा । पत्रकार अनि पत्रकारिता देखि मन मारेकी र यो भन्ने बित्तिकै रिस उठ्ने मेरि आमाले जब पत्रीकामा लेखिएको लामो समाचार माथी लेखिएको छोराको नाम आफै पढ्नुभयो अनि गदगद हुनुभयो । सायद उहाँका लागि यो नौलो भएर हो कि उहाँ पुरानो भएर हो, तर जे भए नि उहाँ खुशी हुनुभयो त्यही मेरा लागि ठुलो हो । मैले धेरै पत्रपत्रिकाहरु, मिडियाहरु संग जोडिएर काम गरेको थिएं तर कसैबाट नास्ताका लागि समेत खर्च पाएन, अब भन्नुस पत्रकार आफै कति पीडित छन । पत्रकारहरुले कसरी आर्थिक स्थिति मजबुत बनाउने वा व्यावसायिक पत्रकारिता तर्फ पत्रकारहरुलाई कसरी उन्मुख गर्ने यो अहिलेको चुनौती हो ।
नेपालमा पत्रकारिता जगतमा देखिएको आर्थिक संकट तर्फ सबैको ध्यानाकर्षण हुन जरुरी भएको देख्दछु । पत्रकारहरुलाइ श्रमजीवी पनि भनिन्छ तर श्रम अनुसारको फल जब पत्रकारले पाउदैन तब के श्रमजीवी भन्नू? दाम नभए पनि नाम हुने क्षेत्रका रुपमा हेरिने पत्रकारितामै जीवन व्यतित गरेर समाजसेवा गर्न चाहनेहरु पनि धेरै छन । तर पत्रकारले श्रम अनुसारको तलब नपाउदा हजारौं पत्रकारहरु यो पेशाबाट नै पन्छिएको र अर्को पेशा उन्मुख भएको तितो सत्य एकातिर छ भने निष्पक्ष भएर पत्रकारिता गर्न चाहनेहरु पनि आर्थिक अभावले राजनैतिक परिवेशमा लाग्नैपर्ने वा निष्पक्ष रहन नसकेको तितोसत्य पनि हामीले देखेका छौँ ।
आर्थिक पकट कमजोर भएपछि पत्रकारिता क्षेत्र मजबुत मानिएका खम्बाहरु पनि ढल्नुपर्ने बाध्यता मेरै साथीहरुबाट आभास गरेको छु । सञ्चार क्षेत्रमा प्रवेश गरिसकेपछी र काम गरिसकेपछि श्रम अनुसारको पारिश्रमिक पाउनुपर्छ जसले पत्रकारलाई बाच्नमा गार्हो नहोस । अहिले देश संघीयतामा गैसके पछि जनताका पक्षमा वकालत गर्ने, जनताका विभिन्न समस्याहरु बाहिर ल्याउने, स्थानीय तह लगायत विभिन्न क्षेत्रलाई घचघचाउने पत्रकारहरुलाई स्थानीय तहहरुले पनि सहयोग गर्नुपर्छ अनि हौसला प्रदान गर्नुपर्छ । दिनरात नभनी खटिने पत्रकार, राज्यको चौथो अंगका रुपमा हेरिने पत्रकारलाई जनताहरुले पनि साथ दिनुपर्छ ।
आमाबुवा, श्रीमान, श्रीमती सबैको बेवास्ता गरेर पत्रकारितामा होमिने पत्रकार तर त्यही पत्रकारलाई जब झुट्टा आरोप लगाइन्छ तब भन्नुस राज्यको चौथो अंग कसरी बदनाम हुन्छ । नराम्रो गर्ने र झुट्टा सुचना सम्प्रेषण गर्ने पत्रकारहरुलाई कानुन अनुसार कारवाही पनि गरिनुपर्छ । नव उदायमान पत्रकारहरुलाई स्थानीय तहहरुले प्रोत्साहित गर्नुपर्छ जसले सत्यको पक्षमा उभिने र देश बिकासमा पत्रकारिता मार्फत आवाज उठाउने धेरै पत्रकारहरुले जन्म हुनेछ । अनि साच्चै लागू हुनेछ देशको चौथो अंग, नागरिकहरुको तेश्रो आँखा पत्रकार ।।
(लेखक सेतोखबर डटकमका सुदुरपश्चिम ब्युरो प्रमुख पनि हुन । उनी समसामयिक बिषयमा कलम चलाउँछन्।)
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा