सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
– बिक्रम भक्त जोशी
गाडी गुडाउनै लाग्या थियो, एउटी बूढी आमै हस्याङ्ग फस्याङ्ग गर्दै गाडी उक्लिइन्। कपाल जगल्टा परेका कन्डक्टरले गाडीको माथिल्लो टिनको पातामा ढ्याप ढ्याप हानेपछि गाडी गुड्यो । बूढी आमै मेरै छेउ आएर बसिन् । म महिला सिटमा बस्या रैछु । अप्ठेरो लाग्यो । एकमनसोचेँ, उठम् क्यारे । तर फेरि सोचेँ, ह्याऽऽऽ… होस्, भिड’नि त उति छैन । कोही महिलावृन्द आए छोड्दिम्ला ।
गाडी बल्खु कटिसकेको थियो । कलङ्की पुग्न लाग्दा ती आमैले मतिर हेरिन् ।
“कति बज्यो, बाबु ?” म झसङ्ग भएँ । स्वर कता कता सुन्या सुन्या जस्तो लाग्यो ।
“बाह्र बज्न लाग्यो, आमै !” म दिमाग खियाउँदै थिएँ, कहाँ पो सुनेको स्वर भन्दै ।
केही अस्पष्ट बोलिन्, मैले बुझिनँ । शायद धन्यवाद भन्या पो हो कि ? आमैलाई हेरेँ, एउटा सानो मुस्कान सहित। फुलेको कपाललाई कालो रङ्गले ढाक्ने कोशिश गरेकी थिईन्, तर छेउछेउमा कपालको ‘ओरिजिनल’ रङ्ग चियाईरहेको थियो । सानो काँठ, मुश्किलले पाउने पाँच फुटहुँदो हो । मरञ्च्यांसे शरीर ।
“बालाजु कुन बेला पुग्छ, बाबु ?” त्यो स्वरले फेरि एकपल्ट मलाई झक्झकायो । हैन, कहाँ सुन्या हो यो स्वर ?
बालाजु पुग्ने अन्दाजी समय बताएर म गम्न थालेँ । र, बल्ल मलाई याद आयो ।
मेरी हजुरआमा र यिनमा हदैसम्म समानता रैछ र पो मलाई ‘डेजाभू’को अनुभूति भा’को रैछ । स्वर पनि कता कता उस्तै । अनि जिउडाल, काँठ, सबै उस्तै उस्तै ।
मेरी स्वर्गीय हजुरआमा । मेरी आमाकी आमा । आफ्नी छोरी भन्दा बढी बाँच्ने मेरी हजुरआमा । अठ्साठी सालको चैतमै आमा परलोक हुनुभो, उनन्सत्तरी सालको जेठमा हजुरआमा ।आमा रोगले थिलथिलो परेर जानुभो, हजुरआमा रोग अनि खोटो भाग्यले थिलथिलो परेर जानुभो ।
बालाकालमा सबैका हजुरआमाहरुले परिलोकको आभाष दिलाउँछन् । मेरो मात्र होईन, सबैको त्यस्तै हुँदो हो। बालसुलभ अवस्थामा हजुरआमाले सुनाउने तिलस्मी कथाहरु सुन्दा कता हो कता पुग्या जस्तो हुने । मेरी हजुरआमाले सुनाउने कथाहरु भने दोहोरिरहन्थे । तर जुनै पनि, जतिनै पटक सुनाएपनि चाख मानेर सुन्ने म छंदैथिएँ। ती मध्ये कुन चैं कथामा हो क्यारे, एउटा राजकुमार राक्षसको देशबाट विशाल कागको ढाडमा चढेर भाग्दै हुन्थे। तेल मसला लत्पतेको एक पोको काँचो मासु साथै बोकेको हुन्थ्यो । आगोका लप्काहरु दन्दनी बल्दै गरेको नदी तरेर भाग्दै गर्दा शर्त मुताविक त्यो कागलाई छिन छिनमा पोकोबाट झिक्दै एक एक टुक्रा मासु ख्वाउँदै ख्वाउँदै जानुपर्ने, नत्र त्यही नदीमा झ्वाम्म पारेर खसालिदिने । आङ्ग सिरिङ्ग हुन्थ्यो उति बेला, यो सम्झेर कि त्यो आगोको लप्का भित्र खसे के हाल हुँदो हो राजकुमारको ।
यस्ता अनेक कथाहरु सुन्थें हजुरआमा बस्ने अंधेरो न अंधेरो डेराको कोठामा । मैले होश सम्भाले देखि नैं हजुरआमा डेरामा बस्नुहुन्थ्यो । घर भक्तपुरको बोडे । हजुरआमाले बोडेको घर छोड्नुभाको आमाहरु सानो छँदा नैं हो । हजुरआमाकी दुई छोरी, आमा अनि आमाकी सानी बहिनी – मेरी सानीआमा । सानीआमा त भर्खर चार वर्ष अरे ऊ बेला । आमा भन्दा आठ वर्षले कान्छी हो क्यारे । दुई सानासाना छोरीहरु बोकेर रातारात निस्किनु भाको रे घरबाट । अब के किन भन्ने बारे छुट्टै कथा नैं छ ।
हजुरबुवा गाउँको धनीमानी व्यक्तित्व हुनुहुन्थ्यो । तर जेठी श्रीमतीको मृत्यु पछि एकल जीवन जिउँदै आउनुभएका आफ्ना बुवालाई उनका छोराले सम्झाई बुझाई अर्को बिहे गर्न लगाएछ । किन हो कुन्नि? न आफ्ना बाउको बुढेसकालको लहडबाजीमा छोरोले घुँडो टेक्या पो हो कि? या अरु कुनै कुरो हो । तर कलिलो उमेरमा नै बिहे भो हजुरआमाको, आफू भन्दा जेठो ‘रेडिमेड’ छोरो भएको घरमा । हजुरआमाका तर्फबाट दुई छोरी भएपछि हजुरबुवा बित्नुभो । अनि शुरु भो हजुरआमाका दशाका दिनहरु । दिनरातको खप्की अनि सम्पत्तिका लागि रडाको । सम्पत्तिको खेलामा कौरव पाण्डव बीच महाभारत मच्चियो भने यहाँ पनि यस्तो नहुने कुरै भएन ।
सम्पत्ति लगायतका कुरोमा मामा अनि यावतका किचलोबाट आजित भएर धेरथोर भएका पोकापुन्तुरु र एक मुठ्ठी मोहर पोको पारेर रातको समय सुटुक्क निस्किनुभएछ अज्ञात गन्तव्यतिर हजुरआमा – पिठ्यूँमा सानी छोरी अनि एक हातले जेठी छोरी डोर्रयाउंदै ।
जान त माईत नै पनि जान सक्नुहुन्थ्यो। तर, हुन सक्छ माईतमा ‘बोझ’ बन्न स्वीकार्य रहेन उहाँलाई। ‘मुग्लान’ भासिनुभो, अर्थात् ‘शहर’ पस्नुभो । त्यो बेला काठमाण्डौलाई ‘शहर’ भनिन्थ्यो।
जगल्टे कन्डक्टर भाडा माग्दै आएपछि झसङ्ग भएँ । कल्पनाको संसारबाट विपनामा झरेर हेर्दा आडमा बसेकी बूढीआमै अघि नैं झरिसकिछन् । लौ, बालाजु कटेको यादै भएन । मेरो गन्तव्य अझै बाँकी नै भएकोले भाडाको पैसो बुझाईवरि फेरि म टोलाउन थालेँ ।
सबै भन्दा पहिले त जैसिदेवलमा डेरा गरी बस्नुभाको हो क्यारे हजुरआमा । बहत्तर सालको भैंचालोले जैसिदेवलको देवल नैं सखाप पारिगो । त्यही भग्नावशेष देवलको आडबाट सडकै सडक पूर्व तर्फ सात घर जति कटेर जाने हो भने दाहिने पट्टिको गल्लीभित्र कतै थियो क्यारे – त्योपहिलो डेरा । दुःखजेलो साह्रै गर्नुभएछ, आफ्ना दुई नानीहरुको पालनपोषणमा । एकल महिलाका रुपमा हजुरआमाका अगाडि धेरै चुनौतीहरु थिए । आफ्ना बुवाले गर्ने कामलाई नैं निरन्तरता दिनु भो हजुरआमाले । कपडा सिलाउने काम गर्न थाल्नुभो । मलाई याद छ, हजुरआमाको डेरा, जुन मेरो लागि मामाघर थियो, त्यहाँ जाँदा हजुरआमा थानका थान रङ्गीचङ्गी कपडा ल्याउनुहुन्थ्यो । अर्डर अनुसार तिनका तन्ना, पेटीकोट, पर्दा सिलाउनुहन्थ्यो र सकाएपछि चाङ्ग चाङ्ग मिलाएर पुर्रयाउन जानुहुन्थ्यो । एक पिस सिलाएको एक सुको, अर्थात् पच्चीस पैसा । उति बेलाको ज्याला रेट। खुट्टाको पेडलले घट्र्याक्क घट्र्याक्क गर्दै चलाउनु पर्ने सिलाई गर्ने कलको घर्रर्रर्र आवाज अहिले पनि कहीँ कतै सुन्दा त्यो बेलाको सम्झना ताजा हुन्छ ।
न्यूरोड गेटबाट देब्रेतर्फ लाग्दा, ऊ बेलाको आर.एन.ए.सी.को जग्गाको छेउछाउ तिर हुनुपर्छ, त्यहाँ झिलिमिली पर्ने गरी ‘सस्तो बजार’ लाग्ने गर्थ्यो । ऊ बेलाको शहरिया हाट बजार भनुं न । दशैंको बेला हुनुपर्छ । हजुरआमाले त्यो बजारमा किन्दिनुभएको हाँस-बुट्टे पहेंलो आधा बाहुला भएको कमिज कैयौं वर्षसम्म मेरो अत्यन्त प्रिय वस्त्र बनिरह्यो । धेरै पछि मक्किएर झुरझुरे भएपछि आमाले त्यो कमिज फ्याल्न लाग्दा मन कुँदिएको अझै याद छ ।
मेरो बुवा पढेलेखेको हुनुहुन्थ्यो । आमासंग साईनो गांसेपछि बुझक्कद ज्वाईंको उपस्थितिले बल्ल हजुरआमाले केही आडभरोसा पाउनुभएको थियो । कान्छो ज्वाईं पनि थपिएपछि सारा व्यवहार सकेको हो कि भन्ने आभाष भएको हुँदो हो, उहाँलाई ।
तर… विधिको विडम्वना नै भनौं । सुखका दिन शुरु हुने लक्षण देखाउँदै मात्र थियो कि हजुरआमालाई अल्जाईमर रोगले छोयो । यो त्यस्तो रोग, जुन रोग लागेपछि सम्झनाशक्तिले नेटो काट्न थाल्छ । शुरु शुरुमा सामान राखेको ठाउँ बिर्सिने, कहाँ जाँदैछु भन्ने हेक्का नरहने । रोगले च्याप्दै गएपछि वर्तमान बिर्सिने । तर भूतकालका पलहरु चाहिं तरोताजा रहने । त्यही भएर कुरो गर्यो गर्यो, पुराना पुराना । वर्तमानसंग कुनै तारतम्य नमिल्ने । जुन कुरो सुन्दा हामी अलमलमा पर्थ्यौं ।
यता आमालाई सुगर रोगले छोएर उग्र रुप लिंदैथ्यो । उता हजुरआमा भने घर बाहिर गएपछि फर्किन नसक्ने, आफ्नो वासस्थान कुन हो, कता हो, अत्तोपत्तो नहुने अवस्थामा पुगिसक्नु भएको थियो । सानीआमाको हेरचाह बीच पनि दुई तीन पटक घरबाट निस्केर लापता हुनुभो । हामी भुईंपाताल गरेर खोज्थ्यौं । कहिले ट्राफिक पोष्टतिर टुचुक्क बस्दै गरेको भेट्टिन्थ्यो त कहिले सत्तल तिर । हामीलाई देख्दा चिनेको हल्का भावसम्म देखाउनुहुन्थ्यो, नभए पूरै ब्ल्याङ्क एक्स्प्रेशन ।
आमा र हजुरआमा दुईको दोहोरो बिमारीका बीच रनभुल्लमा दिन बित्दै थियो । हजुरआमा रोगको तेश्रो स्टेजमा पुग्नुभो । यो त झनै हृदय विदारक हुन्छ । हामीलाई चिन्नै छोड्नुभो । घरमा हरदम चुक्कुल लाएर राख्नुपर्ने । शौचको ठेगान रहेन । एउटा ‘जोम्बी’ सरह । ज्यूँदो छ तर जीवन छैन । जिन्दगी भर दुःखै दुःखमा बिताउनुभो, अनि जब सुख भोग्ने समय आयो, हजुरआमा जिउँदो लाश बनिसक्नुभएको थियो । भाग्यले ठगिएकी । यसै बिच आमालाई पनि रोगले गाँजिसकेको थियो । दुईटै मिर्गौला फेल । डायलिसिस हफ्ताको दुई तीन फेर । किष्ट हस्पिटलको सेरोफेरोमै दिनचर्या बित्न थालेको थियो । अस्पताल भनेपछि कहाली लाग्न थालिसकेको थियो । अनेक कोशिशका बावजुद आमा बित्नुभो । त्यसको तीन महिनामछि हजुरआमा ।
अहिले पनि पशुपति आर्यघाटतिर जाँदा आमा र हजुरआमालाई बिदाई गरेको घाट हेर्छु । लाग्छ हिजै जस्तो । धुँवा सँगै जानुभो, दुवै, छोटो अन्तराल बीच । छोरी अघि, आमा पछि । चक्रको अमिल्दो घुमाई ।
पत्नी वियोगमा रहनु भएका मेरा बुवालाई सम्झाउँथें । यो जिन्दगी फगत एक स्वप्न हो । जब मृत्यु हुन्छ, तब हामी बिउँझिन्छौं । जसरी हामी मस्त निद्रामा हुन्छौं, स्वप्न लोकमा हुन्छौं, हामीलाई लाग्छ त्यही वास्तविकता हो । हामी स्वप्नमै रमाउँछौं, स्वप्नमै हाँस्छौं, त्यसैलाई यथार्थ सम्झेर । र, जब निद्रा खुल्छ, केही समय हामी अलमलमा पर्छौं । स्वप्नका घटनालाई वास्तविक थानिबस्छौं । तर केही समय पछि जब पूर्ण रुपमा होश खुल्छ, तब बल्ल चेत हुन्छ कि यो पो हो त असली जिन्दगी । ती सब सपना त मिथ्या थिए । हो, यसरी नैं हामी जब मृत्युको काखमा पुग्छौं, केही समय हामी भर्खरै छाडिआएको सांसारिक जीवनलाई वास्तविक सम्झी विषाद् गर्छौं । आफूले छोडिआएका आफन्त, मित्रजन सब सम्झी सम्झी भक्कानिन्छौं । तर जब विस्तारै ज्ञात हुन थाल्छ कि छोडेको त्यो जीवन त केवल एउटा भ्रम थियो, एउटा दीर्घ स्वप्न थियो, अनि फेरि यात्राको अर्को पाटोतर्फ अग्रसर हुन तयार हुन्छौं । यसरी नैं जीवनचक्र चलिरहन्छ । यो चक्रमा हामी घुमिरहन्छौं, घुम्नै पर्छ, मुक्ति उन्मुख नभएसम्म… निरन्तर ।
बुवा यी सब सुनेर चित्त बुझाउनुहुन्थ्यो कि हुन्नथ्यो, म जान्दिनं । तर मलाई लाग्थ्यो कि पक्कै यी कुरा मेरी आमाहरुले सुन्दा हुन् अनि भन्दा हुन्, “हामी त चिर निद्राबाट बिउँझियौं, बाबु ।आफ्नो भागको स्वप्न देख्नु तिमी पनि, अनि कुनै दिन तिमी पनि बिउँझिनेछौ ।”
बिउँझिएँ, म उतिनै खेर । जब बिउंझिएँ, गाडी कोटेश्वर पुग्नै लागिसकेको थियो । मेरो गन्तव्य ।
*समाप्त*
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा