सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन ८ । दस हजार किशोरी र महिलाहरुलाई डिजिटल तथा वित्तिय साक्षरता प्रदान गर्ने उद्धेश्यका साथ खल्ती डिजिटल वालेटले आजदेखि स्मार्ट छोरी अभियान सुरु गरेको छ । देशव्यापी रुपमा संचालित यस अभियानले किशोरी र महिलाहरु माझ पुगेर उनीहरूको जीवन र समुदायमा परिवर्तन ल्याउने लक्ष्य राखेको छ ।
नेपालको सन्दर्भमा हेर्ने हो भने अझै पनि घरका अधिकांश निर्णयहरु पुरुष सदस्यले मात्रै लिने गरेको पाइन्छ । साथै, हाम्रो देशमा पुरुषको तुलनामा महिलामा बेरोजगारीको समस्या धेरै छ । डिजिटल शीपको अभाव नै उनीहरुको क्यारियर अगाडि नबढ्नुको एउटा अड्चनको रुपमा देखिएको छ । स्मार्ट छोरी अभियानले उनीहरुलाई बिभिन्न जीवन उपयोगी सीप प्रदान गरी क्षमता अभिबृद्धि गर्ने र सशक्तीकरणमा टेवा पुर्याउने लक्ष्य लिएको छ ।
स्मार्ट छोरी खल्ती एप भित्र संचालित एउटा ई–लर्निङ प्लाटफर्म हो जहाँ सहभागिहरुले सुचना तथा सञ्चार प्रविधीको सहि सदुपयोग गर्न सिक्नुका साथै डिजिटल भुक्तानी, अन्लाईन सुरक्षा र वित्त व्यबस्थापन लगायतका कुराहरु सिक्नेछन् । स्मार्टफोन बोक्ने र इन्टरनेटको पहुँचमा रहेका १५ देखि ३५ वर्ष उमेर समूहका नेपाली किशोरी तथा महिलाहरु यो अभियानमा सामेल हुन सक्नेछन् ।
यस अभियानले किशोरी र महिलाहरुमा ज्ञान र शीप प्रदान गर्नेछ जसले गर्दा उनीहरु आँफैमा स्वरोजगार भई आत्मनिर्भर बन्न, बचत गर्ने बानी बिकास गर्न र आफ्नो समुदायमा उदाहरणिय व्यक्तित्व बन्न सक्नेछन् ।
अभियानको घोषणा गर्दै ‘खल्ती’का निर्देशक तथा ’स्मार्ट छोरी’का संयोजक अमित अग्रवालले भने, “पछिल्लो समयमा डिजिटल नेपाल र स्मार्ट सिटीका बारेमा धेरै चर्चा हुनथालेको छ । तर अधिकांशको ध्यान भौतिक पूर्वाधार विकास गर्ने तर्फ मात्रै छ । भौतिक पूर्वाधारको विकासले मात्रै डिजिटल नेपाल कदापि सम्भव छैन । यसका लागि डिजिटल साक्षर जनशक्ति र जन–सहभागिता उत्तिकै आवश्यक पर्छ । दक्ष जनशक्तिको कुरा गर्दा आधा भन्दा बढी जनसंख्या भएका महिलाहरुको भूमिका अझै प्रभावकारी बनाउनु पर्ने देखिन्छ ।
“नेपालको गाउँगाउँमा जसरी महिला स्वास्थ्य स्वयंसेविकाहरु सामुदायिक स्वास्थ्य सेवाको मेरुदन्डका रुपमा काम गर्नुभएको छ, त्यस्तै गरी हाम्रा छोरी र दिदीबहिनीहरुलाई इन्टरनेट प्रविधीको प्रयोग मार्फत मानिसको जीवन सरल परिवर्तनको संवाहकका रुपमा सहभागि गराउन आवश्यक छ । अनिमात्रै डिजिटल नेपालको सपना पूरा हुन सक्छ ।” अग्रवालले भने
स्मार्ट छोरी अभियानमा कसरी सहभागीहुने ?
१५ देखि ३५ वर्षसम्मका किशोरी तथा महिलाहरुले ‘खल्ती डिजिटल वालेट’ एप डाउनलोड गरी उक्त एपको गृह पृष्ठमा दिइएको ‘स्मार्ट छोरी’ ब्यानरमा क्लिक गरी यो अभियानमा जोडिन सक्नेछन् । यो इ–लर्निङ प्लाटफर्म महिला प्रयोगकर्ताहरुलाई मात्रै उपलब्ध छ । खल्ती एप गुगलप्ले स्टोर तथा एप स्टोरमागई खल्ती टाइप गरेर वायो लिङ्क –khalti.com/download.मार्फत डाउनलोड गर्न सकिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा